रेबिजबाट नेपालमा बर्सेनि करिब १०० जनाको मृत्यु



काठमाडौँ,असोज १२ । रेबिज घातक भए पनि समयमै रोकथाम र उपचारबाट बच्न सकिने रोग हो । विश्वभर हरेक वर्ष अनुमानित ५८ हजार ९९० जनाको रेबिजका कारण मृत्यु हुने गरेको छ । तीमध्ये ४७ प्रतिशत मृत्यु दक्षिणपूर्वी एसिया र ३२.५ प्रतिशत अफ्रिकी मुलुकमा हुने गरेको तथ्याङ्क छ । रेबिजबाट मृत्यु हुनेमध्ये करिब ४० प्रतिशत १५ वर्षभन्दा कम उमेरका बालबालिका छन् । मानवमा हुने रेबिजका करिब ९९ प्रतिशत घटना कुकुरसँग सम्बन्धित छन् ।

हरेक वर्ष सेप्टेम्बर २८ मा विश्व रेबिज दिवस मनाइन्छ । रेबिज रोकथाम, जनचेतना अभिवृद्धि तथा मानव र पशु स्वास्थ्यबीचको समन्वय सुदृढ गर्दै रेबिज निवारणप्रतिको प्रतिबद्धता दोहोर्‍याउने उद्देश्यले यो दिवस मनाइन्छ । सेप्टेम्बर २८ लुइ पास्चरको स्मृति दिवससमेत हो । रेबिजविरुद्धको पहिलो सफल खोप विकासमा पास्चरको महत्त्वपूर्ण योगदान रहेको थियो । यस वर्ष ‘एकतामा शक्ति, रेबिजबाट मुक्ति’ भन्ने सन्देशका साथ विश्व रेबिज दिवस मनाइएको छ ।

नेपालमा पनि रेबिज महत्वपूर्ण जनस्वास्थ्य समस्याका रूपमा रहेको छ । आर्थिक वर्ष २०८१/८२ मा देशभर दुई लाख २३ हजार ५१० वटा जनावरको टोकाइका घटना रिपोर्ट भएका छन् । तीमध्ये करिब ९६ प्रतिशत घटना कुकुरको टोकाइबाट भएका छन् ।

स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. अनुज भट्टचनका अनुसार नेपालमा प्रत्येक वर्ष रेबिजका कारण करिब १०० जनाको मृत्यु हुने अनुमान छ । नेपालमा मानव रेबिजका करिब ९९ प्रतिशत घटना कुकुरको टोकाइसँग सम्बन्धित छन् ।

नेपालको करिब ५० प्रतिशत जनसङ्ख्या रेबिजको उच्च जोखिम क्षेत्रमा बसोबास गर्छ । बालबालिका रेबिजको विशेष जोखिममा रहने गरेका छन् । देशभर रेबिजविरुद्धको खोप सेवा विस्तार गर्ने क्रममा हाल २८६ वटा सेवा केन्द्रबाट खोप उपलब्ध गराइएको डा. भट्टचनले बताउनुभयो ।

कुकुर, बिरालो वा अन्य सम्भावित रेबिज सङ्क्रमित जनावरले टोकेमा वा चिथोरेमा उपचारमा ढिलाइ गर्न नहुने चिकित्सकहरूले बताएका छन् । यस्तो अवस्थामा घाउलाई साबुन र बगिरहेको पानीले कम्तीमा १५ मिनेटसम्म राम्ररी धुनुपर्छ । घाउमा खुर्सानी, तेल, माटो, जडीबुटी वा अन्य घरेलु पदार्थ लगाउन नहुने स्वास्थ्यकर्मीको सुझाव छ ।

घाउ धोएपछि सम्भव भएसम्म तत्काल नजिकको स्वास्थ्य संस्थामा गई स्वास्थ्यकर्मीको सल्लाहअनुसार उपचार तथा खोप सुरु गर्नुपर्छ । स्वास्थ्यकर्मीले दिएको सल्लाहअनुसार उपचारको निर्धारित प्रक्रिया पूरा गर्नुपर्ने महाशाखाले जनाएको छ । जनावरको टोकाइलाई सामान्य घाउ ठानेर बेवास्ता गर्न नहुने र रेबिजको लक्षण देखिएपछि रोग सतप्रतिशत घातक हुने भएकाले लक्षण देखिन पर्खन नहुने महाशाखाको भनाइ छ ।

मानवमा हुने रेबिजको ठूलो हिस्सा कुकुरबाट सर्ने भएकाले घरपालुवा कुकुरलाई नियमित रेबिजविरुद्धको खोप लगाउने, जिम्मेवार पशुपालन गर्ने तथा कुकुरको जनसङ्ख्या व्यवस्थापनमा ध्यान दिने कार्य रेबिज रोकथामका महत्त्वपूर्ण उपाय हुन् । रेबिज नियन्त्रणका लागि नेपालले मानव स्वास्थ्य, पशु स्वास्थ्य, वन्यजन्तु, वातावरण, स्थानीय तह तथा समुदायबीचको समन्वयमा आधारित एक स्वास्थ्य अवधारणालाई प्राथमिकता दिएको छ ।

नेपालले सन् २०३० सम्म कुकुरबाट सर्ने रेबिजका कारण हुने मानव मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको छ । उक्त लक्ष्य प्राप्तिका लागि रेबिज निगरानी तथा प्रयोगशाला प्रणाली सुदृढीकरण, कुकुरको सामूहिक खोप, कुकुरको जनसङ्ख्या व्यवस्थापन, रेबिजविरुद्धको उपचारमा पहुँच सुधार तथा समुदायमा जनचेतना अभिवृद्धिलगायतका रणनीतिक कार्य अघि बढाइएको महाशाखाले जनाएको छ ।

रेबिज निवारणका लागि सातै प्रदेशमा रेबिज निवारण रणनीति तथा कार्ययोजना विकास, उच्च जोखिम क्षेत्रमा समुदायमा आधारित जनचेतना तथा मानव र पशु स्वास्थ्य क्षेत्रबीचको समन्वयलाई प्राथमिकता दिइएको छ । घरपालुवा कुकुर तथा बिरालोलाई नियमित खोप लगाउने, बालबालिकालाई जनावरसँग सुरक्षित व्यवहार गर्न सिकाउने, जनावरले टोके वा चिथोरेमा तत्काल स्वास्थ्य संस्थामा पुग्ने तथा समुदायमा रेबिजसम्बन्धी सही जानकारी फैलाउने कार्यले रेबिज रोकथाममा महत्त्वपूर्ण योगदान पुर्‍याउने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्