बसमाथि ढुंगा खस्दा चार यात्रु घाइते
कपिलवस्तु,असोज १३ । कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा माथिबाट खसेको ढुंगा बसमा लाग्दा चार यात्रु घाइते भएका छन्। घाइतेमध्ये दुई पुरुषको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालले बताउनुभयो।
मङ्गलबार बिहान करिब १ः२५ बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत चोरखोलामा काठमाडौँबाट दाङतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७३० नम्बरको बसमाथि अचानक ढुंगा खसेर लागेको थियो। बस चालक चितवनको रत्ननगर नगरपालिका–११ का ४९ वर्षीय लोक बस्नेतका अनुसार ढुंगा खस्दा बसमा सवार यात्रु घाइते भएका थिए।
घटनाको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थल पुगेको थियो। घाइतेमध्ये बर्दियाको गेरुवा गाउँपालिका–२ का ५६ वर्षीय सुरज लाल थारुको टाउको र घाँटीमा चोट लागेको छ। सोही स्थानका ३७ वर्षीय दोबरिका प्रसाद थारुको अनुहारमा चोट लाग्नुका साथै दाहिने खुट्टा भाँचिएको प्रहरीले जनाएको छ।
त्यस्तै, चितवनको भरतपुर महानगरपालिका–२९ की २० वर्षीया सलिना सुनारको खुट्टामा चोट लागेको छ। उहाँको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। कञ्चनपुरको अमरबस्ती–१० की ४० वर्षीया भगवती कडेलको ढाडमा चोट लागेको र उहाँको अवस्था पनि सामान्य रहेको छ।
चारै जना घाइतेको प्रारम्भिक उपचार भालुवाङ अस्पतालमा गरिएको थियो। थप उपचारका लागि उनीहरूलाई बिहान ३ः३५ बजे बाँकेको नेपालगञ्जस्थित भेरी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

