दुबईबाट तेल अभिभ उडेको विमान साउदी अरबमा आपत्कालीन अवतरण, दुई पाइलट घाइते



ताबुक, असोज १४ । संयुक्त अरब इमिरेट्सको दुबईबाट इजरायलको तेल अभिभका लागि उडेको फ्लाइदुबईको यात्रुवाहक विमान साउदी अरबको ताबुकमा आपत्कालीन अवतरण गरिएको छ।

विमानमा करिब १५० जना यात्रु सवार रहेको र अधिकांश इजरायली नागरिक रहेको बताइएको छ। विमानका सबै यात्रु सुरक्षित रहेको फ्लाइदुबईले जनाएको छ। विमानका क्याप्टेन र सह–पाइलट भने घाइते अवस्थामा भेटिएपछि उपचारका लागि अस्पताल लगिएको ताबुक विमानस्थल सञ्चालन गर्ने कम्पनीले जनाएको छ।

उडान अनुगमन गर्ने वेबसाइट फ्लाइटरेडार–२४ का अनुसार दुबईबाट बुधबार बिहान उडेको फ्लाइदुबईको उडान एफजेड १०७३ ले करिब दुई घण्टापछि आपत्कालीन सङ्केत पठाएको थियो। विमानले उडानका क्रममा अचानक उचाइ गुमाएको देखिएको छ। ग्रिनविच समयअनुसार बिहान ५ः२१ बजे करिब ३४ हजार फिटको उचाइमा रहेको विमान एक मिनेटभन्दा कम समयमा १७ हजार फिटभन्दा तल झरेको थियो।

विमानभित्र पाइलटहरूबीच झगडा भएको र एक पाइलटले अर्कोलाई धारिलो हतियार प्रहार गरेको हुनसक्ने विवरण इजरायली सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका छन्। एक यात्रुले सह–पाइलटले पाइलटमाथि आक्रमण गर्ने र विमान नियन्त्रणमा लिन खोजेको आफूले सुनेको बताउनुभएको छ। यात्रुहरूले हस्तक्षेप गरेर सह–पाइलटलाई नियन्त्रणमा लिएको र एक चिकित्सकले घाइतेलाई प्राथमिक उपचार गरेको ती यात्रुको भनाइ छ।

विमानले केही समय जोर्डनको आकाशमा प्रवेश गरेपछि पुनः साउदी अरबतर्फ मोडिएको थियो। ताबुक विमानस्थलका अनुसार विमान बिहान ९ः४५ बजे सुरक्षित रूपमा अवतरण गरिएको थियो।घटनापछि विमानबाट सुरुमा आपत्कालीन सङ्केत पठाइएको र केही मिनेटपछि विमान अपहरणमा परेको जनाउने सङ्केत पठाइएको इजरायली सञ्चारमाध्यमहरूले जनाएका छन्। पछि उक्त सङ्केतलाई पुनः सामान्य आपत्कालीन अवस्थाका रूपमा सच्याइएको थियो।

विमान आफ्नो निर्धारित मार्गबाट अचानक मोडिएपछि इजरायलले सावधानीस्वरूप लडाकु विमानसमेत परिचालन गरेको थियो। विमान अपहरण भएको आशङ्कामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र रक्षामन्त्रीले आपत्कालीन छलफलसमेत गर्नुभएको थियो।

फ्लाइदुबईले घटनाबारे संक्षिप्त प्रतिक्रिया दिँदै उडानका क्रममा एउटा घटना भएको पुष्टि गरेको छ। कम्पनीले आफ्ना टोलीहरू सम्बन्धित निकायसँग समन्वय गरेर काम गरिरहेको जनाएको छ। प्रधानमन्त्री नेतन्याहूले स्थिति नियन्त्रणमा रहेको र साउदी अरबमा रहेका इजरायली यात्रुलाई स्वदेश फर्काउने प्रयास भइरहेको बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्