सुत्केरी बिदा ९८ दिनबाट बढाएर छ महिना पुर्‍याउने प्रस्ताव



काठमाडौं, असोज १५ । सरकारले हाल कार्यान्वयनमा रहेको ९८ दिनको सुत्केरी बिदा बढाएर छ महिना पुर्‍याउने प्रस्ताव अघि बढाएको छ।

‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५’ संशोधन गर्न तयार गरिएको ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, २०८३’ को मस्यौदामा सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा कार्यरत महिलालाई सुत्केरी हुनुअघि र पछि गरी छ महिनासम्म तलबसहितको बिदा दिने व्यवस्था प्रस्ताव गरिएको हो।

यस्तै, पत्नी सुत्केरी हुँदा पुरुष कर्मचारीलाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा दिने प्रस्ताव पनि गरिएको छ। प्रस्तावित व्यवस्थाको उद्देश्य आमा तथा नवजात शिशुको स्वास्थ्य संरक्षण, स्तनपान प्रवर्द्धन तथा प्रसूतिपछि आमालाई पर्याप्त आराम र हेरचाहको अवसर उपलब्ध गराउनु रहेको छ।

प्रतिनिधिसभाले सोमबार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरिसकेको छ। प्रस्ताव पेस गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मातृत्वमा गरिएको लगानीलाई राज्यको भविष्यमाथिको लगानीका रूपमा बुझ्नुपर्ने बताउनुभएको थियो।

स्वास्थ्य क्षेत्रका विज्ञहरूले छ महिनाको सुत्केरी बिदा आमा र नवजात शिशुको स्वास्थ्यका लागि आवश्यक रहेको बताएका छन्। परिवार कल्याण महाशाखाअन्तर्गत मातृ तथा नवजात शिशु शाखा प्रमुख डा गौरी प्रधान श्रेष्ठले नवजात शिशुका लागि आमाको दूध अत्यन्त महत्वपूर्ण भएकाले कम्तीमा छ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्ने बताउनुभयो।

उहाँका अनुसार आमाको दूधले नवजात शिशुलाई विभिन्न रोगबाट जोगाउन तथा रोगसँग लड्ने क्षमता विकास गर्न सहयोग गर्छ। नेपाल बहुसूचक सर्वेक्षण २०२४–२५ अनुसार छ महिनाभन्दा कम उमेरका १० मध्ये सात शिशुले मात्र पूर्ण स्तनपान पाएका छन्। यस्तै, १० मध्ये चारभन्दा कम शिशुले जन्मिएको एक घण्टाभित्र स्तनपान सुरु गर्ने गरेका छन्।

डा श्रेष्ठले छ महिनाको सुत्केरी बिदाले आमालाई प्रसूतिपछि शारीरिक रूपमा तङ्ग्रिन र सामान्य अवस्थामा फर्किन पर्याप्त समय उपलब्ध गराउने बताउनुभयो। कामकाजी महिलाको सङ्ख्या बढ्दै गए पनि सबै कार्यस्थलमा पर्याप्त स्तनपान कक्षको व्यवस्था नरहेको उहाँको भनाइ छ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले पनि छ महिनाको सुत्केरी बिदाको प्रस्ताव सकारात्मक रहेको बताउनुभयो। उहाँले यस्तो व्यवस्थाले महिला तथा नवजात शिशुको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो।

डा श्रेष्ठले छ महिनाको सुत्केरी बिदा कार्यान्वयनको सुरुआती चरणमा केही अप्ठ्यारो हुन सक्ने भए पनि यसलाई भावी पुस्ताका लागि लगानीका रूपमा लिनुपर्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्