बाढी प्रभावितलाई लक्षित स्वास्थ्य शिविरमा १९५ जनाको उपचार



विदुर, असोज १५ । त्रिशूली नदीमा आएको महाप्रलयपछि बाढीबाट प्रभावित समुदायलाई लक्षित गरी नुवाकोटमा सामुदायिक स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शिविरमा १ सय ९५ जनाले स्वास्थ्य सेवा लिएका छन् ।

बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावितका लागि नुवाकोट शहरी स्वास्थ्य केन्द्रको भवनमा सञ्चालन गरिएको शिविरमा सशस्त्र प्रहरी बल नेपाल अस्पताल, बलम्बुको विशेषज्ञ टोलीले स्वास्थ्य परीक्षण तथा उपचार सेवा दिएको हो ।

विश्व हृदय दिवसको अवसरमा लायन्स/लियो क्लब अफ काठमाडौं लर्ड बुद्धको सहयोगमा शिविर आयोजना गरिएको थियो । नेपाल एपीएफ अस्पतालको विशेषज्ञ टोली, एपीएफ नं. १९ गुल्म नुवाकोटका कर्मचारी, स्वयंसेवक तथा जनप्रतिनिधिको समन्वयमा बाढी प्रभावित समुदायलाई लक्षित गरी शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

शिविरमा १ सय ५ महिलासहित १ सय ९५ जनाले स्वास्थ्य लाभ लिएका थिए । उनीहरूमध्ये १९ जनाको इको, २५ जनाको इसिजी र ३५ जनाको युएसजी परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षणका क्रममा एक जनालाई थप उपचारका लागि रिफर गरिएको आयोजकले जनाएको छ ।

शिविरमा स्वास्थ्य परीक्षणसँगै आवश्यक औषधिसमेत निःशुल्क प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्