संसद्मा उठाइएका राष्ट्रिय मुद्दा सरकारले बेवास्ता गरेको आरोप
काठमाडौँ, असोज १५ । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले संसद्मा उठाइएका राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गरेको आरोप लगाउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख सचेतक राईले आफूहरूले संसद्मा उठाउँदै आएका राष्ट्रिय मुद्दालाई सरकारले पर्याप्त रूपमा सम्बोधन गर्न नसकेको बताउनुभयो ।
उहाँले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि ‘फ्रि भिसा, फ्रि टिकट’को व्यवस्था भनिए पनि लाखौँ रुपैयाँ तिरेर विदेश जानुपर्ने अवस्था कायमै रहेको भन्दै यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
राईले मुलुकका विभिन्न जिल्लामा देखिएको बाँदर आतङ्क नियन्त्रण तथा व्यवस्थापनका लागि आफूहरूले सरकारको ध्यानाकर्षण गराउँदै आए पनि प्रभावकारी योजना बनाएर कार्यान्वयन हुन नसकेको गुनासो गर्नुभयो ।
त्यस्तै, नदी तथा खोला आसपासको अव्यवस्थित बसोबास र सुकुम्वासी समस्या समाधान गर्नेतर्फ पनि सरकारको पर्याप्त ध्यान पुग्न नसकेको उहाँले बताउनुभयो ।

