प्रधानमन्त्री शाहद्वारा अस्ट्रेलियाको सहयोगप्रति कृतज्ञता
काठमाडौँ, असोज १५ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा हालै आएको बाढी तथा पहिरोपछि अस्ट्रेलिया सरकारले देखाएको मित्रता, ऐक्यबद्धता र सहयोगप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ।नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार गर्नुभएको शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री शाहले सो आभार व्यक्त गर्नुभएको हो।
भेटका क्रममा प्रधानमन्त्री शाहले बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै सरकारले खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि उपलब्ध सम्पूर्ण स्रोतसाधन परिचालन गरिरहेको जानकारी दिनुभयो।
विपद्पछि अस्ट्रेलियाले विशेषज्ञ ड्रोन सञ्चालक, राहत सामग्री तथा १७ सदस्यीय विपद् सहकार्य तथा प्रतिकार्य टोली नेपाल पठाएकोमा प्रधानमन्त्री शाहले प्रशंसा गर्नुभयो। उहाँले अस्ट्रेलियाले उपलब्ध गराएको ११ मिलियन अस्ट्रेलियन डलर सहयोग दुई देशबीचको प्रगाढ सम्बन्धको प्रतीक भएको बताउनुभयो।
प्रधानमन्त्री शाहले बाढीका कारण बेपत्ता रहेका अस्ट्रेलियन नागरिकको खोजी कार्यलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेर अघि बढाइरहेको जानकारी दिनुभयो। साथै, अस्ट्रेलियाले नेपालको मानव संसाधन विकासमा पुर्याउँदै आएको निरन्तर सहयोगका लागि पनि धन्यवाद व्यक्त गर्नुभयो।
भेटमा राजदूत साइमन अर्न्स्टले प्राकृतिक विपद्का कारण नेपालले बेहोर्नुपरेको क्षतिप्रति समवेदना व्यक्त गर्नुभयो। उहाँले हालै संयुक्त राष्ट्रसङ्घमा नेपालले जनाएको सशक्त तथा प्रभावकारी उपस्थितिको समेत प्रशंसा गर्नुभयो।

