परराष्ट्रमन्त्री खनाल प्रि–कोप लिडर्स इभेन्टमा सहभागी हुन फिजी जाँदै



काठमाडौं,असोज १५ । परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन यही असोज १७ गते शनिबार फिजी प्रस्थान गर्नुहुने भएको छ।

फिजी र टुभालुमा अक्टोबर ५ र ६ तारिखमा आयोजना हुने उक्त कार्यक्रममा सहभागी हुन मन्त्री खनालको नेतृत्वमा चार सदस्यीय नेपाली प्रतिनिधिमण्डल त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार मन्त्री खनालले अक्टोबर ६ तारिखमा आयोजना हुने नेताहरूको पूर्ण सत्रमा सम्बोधन गर्नुहुनेछ। त्यसअघि उहाँले पलाउका राष्ट्रपति तथा अस्ट्रेलिया र फिजीका प्रधानमन्त्रीसँग संयुक्त रूपमा आयोजना हुने सञ्चारकर्मीसँगको प्रश्नोत्तर कार्यक्रममा सहभागिता जनाउनुहुनेछ।

जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी संवाद र सहकार्यलाई अगाडि बढाउने उद्देश्यले आयोजना हुने कार्यक्रममा नेपालको सहभागिताले जलवायु परिवर्तनका असर, जलवायु न्याय तथा हिमाली राष्ट्रका सरोकारका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ।

फिजी र टुभालुको भ्रमणपछि परराष्ट्रमन्त्री खनाल अस्ट्रेलिया प्रस्थान गर्नुहुनेछ। उहाँले अक्टोबर ८ तारिखमा अस्ट्रेलियाका विदेशमन्त्री पेनी वङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।भेटवार्तामा नेपाल–अस्ट्रेलिया सम्बन्ध, द्विपक्षीय सहकार्य तथा आपसी हितका विविध विषयमा छलफल हुने जनाइएको छ।

अस्ट्रेलिया भ्रमणका क्रममा मन्त्री खनालले क्यानबेरास्थित नेपाली दूतावास र सिड्नीमा नेपाली डायस्पोराले आयोजना गर्ने छुट्टाछुट्टै कार्यक्रममा समेत सहभागिता जनाउनुहुनेछ। ती कार्यक्रममा उहाँले अस्ट्रेलियामा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्नुहुनेछ। मन्त्री खनाल अक्टोबर १२ तारिखमा नेपाल फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्