हिम्लुङ हिमपहिरोमा थप आठ शव भेटिए, मृतकको सङ्ख्या १५ पुग्यो
मनाङ,असोज १५ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये थप आठ जनाको शव आज भेटिएको छ। यससँगै गत असोज ११ गते गएको हिमपहिरोमा परी ज्यान गुमाउने आरोहीको सङ्ख्या १५ पुगेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार आज बिहान चार जनाको शव भेटिएकोमा दिउँसो थप चार जनाको शव फेला परेको हो। यसअघि सात जनाको शव भेटिएको थियो। हिमपहिरोमा परी अझै एक जना हराइरहेका छन्।
भेटिएका शवमध्ये दुई जनाको शव सदरमुकाम चामे ल्याइएको छ भने छ जनाको शव फूगाउँसम्म ल्याइएको पौडेलले जानकारी दिनुभयो। रात परिसकेकाले हेलिकप्टर उडान गर्न नसकिने भएकाले बाँकी शव शुक्रबार चामे ल्याइने उहाँले बताउनुभयो।
नेपाली सेनाको हेलिकप्टरमार्फत आज शव उद्धार गरिएको हो।सेनाको टोलीले स्थानीय तथा अन्य सुरक्षा निकायसँगको समन्वयमा चामे गाउँपालिका–४ स्थित ठाडो खोलामा पहिरोका कारण थुनिएको मस्र्याङ्दी नदीको बहाव खुलाउने तथा अवरुद्ध विद्युत् प्रसारण लाइन सञ्चालनमा ल्याउने कामसमेत गरिरहेको छ।
हिम्लुङ हिमालको आधार शिविरमा असोज ११ गते बिहान हिमपहिरो गएको थियो। घटनापछि नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशनले खोज तथा उद्धारका लागि ११ सदस्यीय उद्धार दक्ष टोली परिचालन गरेको छ।

