भोटेकोशी बाढी प्रतिकार्यमा स्रोत व्यवस्थापनमा कमी हुन नदिने आइएफआरसीको प्रतिबद्धता
नुवाकोट,असोज १५ । नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाले भोटेकोशी बाढीबाट सिर्जित विपद्को प्रतिकार्यमा सञ्चालन गरेका गतिविधिको अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटी महासंघ (आईएफआरसी) ले प्रशंसा गरेको छ।
नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखामा बिहीबार जिल्ला शाखाका पदाधिकारी, सदस्य तथा कर्मचारीसँग आईएफआरसीका महासचिव जगन चापागाईं, नेपाल प्रतिनिधि डेभिड फिसर तथा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय समितिका महामन्त्री ऋषि रमण खनालसहितको टोलीले औपचारिक भेटघाट तथा अन्तरक्रिया गरेको हो।
अन्तरक्रियामा भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा भइरहेका विपद् प्रतिकार्य, राहत तथा पुनर्स्थापनाका गतिविधि र आगामी दिनमा आवश्यक पर्ने स्रोत व्यवस्थापनका विषयमा छलफल भएको थियो।
आईएफआरसीका महासचिव चापागाईंले भोटेकोशी बाढीको प्रतिकार्यका लागि आवश्यक स्रोत व्यवस्थापनमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले विपद्का समयमा नेपाल रेडक्रस सोसाइटीले स्थानीय तहदेखि जिल्ला तथा केन्द्रीय तहसम्म निर्वाह गर्दै आएको मानवीय भूमिकाको प्रशंसा गर्नुभयो।
सो अवसरमा नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाका सभापति हरि श्रेष्ठ र मन्त्री उद्बव शर्मा रिजालले जिल्लामा विपद् प्रतिकार्यका क्रममा शाखाले सञ्चालन गरेका गतिविधि, प्राप्त उपलब्धि तथा देखिएका चुनौतीबारे जानकारी गराउनुभयो।उहाँहरूले विपद् प्रभावित समुदायसम्म राहत तथा आवश्यक मानवीय सहयोग पुर्याउन स्थानीय सरोकारवाला निकाय, स्वयंसेवक तथा रेडक्रसकर्मीको समन्वयमा भइरहेको कामबारे जानकारी दिनुभयो।
अन्तरक्रियामा विपद् प्रतिकार्यलाई थप प्रभावकारी बनाउने, आवश्यक स्रोत तथा जनशक्तिको व्यवस्थापन गर्ने र आगामी दिनमा हुन सक्ने विपद्का लागि पूर्वतयारी तथा समन्वयलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो।
आईएफआरसी प्रतिनिधिमण्डलले नुवाकोट शाखाले विपद्का समयमा मानवीय सेवामा पुर्याउँदै आएको योगदानको प्रशंसा गरेपछि शाखाका पदाधिकारी तथा कर्मचारीले थप उत्साहका साथ मानवीय सेवामा निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

