कोशी प्रदेश योजना आयोगमा दुई सदस्य नियुक्त
विराटनगर,असोज १६ । कोशी प्रदेश सरकारले प्रदेश योजना आयोगमा दुई जना सदस्य नियुक्त गरेको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विराटनगर महानगरपालिका–३ का तोयानाथ खतिवडा ‘रुपेश’ र खोटाङकी हरिकुमारी राईलाई प्रदेश योजना आयोगको सदस्यमा नियुक्त गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सरकारका प्रवक्ता गोम्बु शेर्पाले जानकारी दिनुभयो ।
बैठकले मुख्यमन्त्री सम्मेलनको मिति पनि परिवर्तन गरेको छ ।यसअघि असोज २२ र २३ गते गर्ने निर्णय भएको सम्मेलन अब असोज २७ र २८ गते आयोजना हुने भएको छ ।
यस्तै, मन्त्रिपरिषद् बैठकले विराटनगरमा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालालाई प्रदेश गौरवको आयोजनाका रूपमा निर्माण गर्ने निर्णय गरेको छ ।

