भोटेकोशी बाढीपीडितका लागि सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग
काठमाडौं,असोज १६ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनले २५ लाख रुपैयाँ सहयोग गरेको छ ।फाउन्डेसनका सचिव एवं हाम्रो सनसाइन स्कुलका प्रधानाध्यापक दिवेश खत्रीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी बिहीबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनालाई २५ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो ।
सचिव खत्रीका अनुसार शिक्षक, कर्मचारी तथा संस्थाका सदस्यहरूबाट रकम सङ्कलन गरी कोषमा जम्मा गरिएको हो ।चेक हस्तान्तरण कार्यक्रममा सञ्चारमन्त्री डा. तिमिल्सिनाले विपद्को समयमा गरिएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै बाढीपीडितको राहत तथा पुनःस्थापनालाई सरकारले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।
काठमाडौँको बौद्धमा रहेको हाम्रो सनसाइन स्कुलले विगत २५ वर्षदेखि आर्थिक रूपमा विपन्न बालबालिकालाई पूर्ण निःशुल्क शिक्षासहित दिवा खानाको समेत व्यवस्था गर्दै आएको प्रधानाध्यापक खत्रीले बताउनुभयो । विद्यालयमा कक्षा १२ सम्मको पठनपाठन हुँदै आएको छ ।

