विपद्का लागि सामान्य पूर्वसूचना पर्याप्त हुँदैन : डा उप्रेती
काठमाडौँ, असोज १६ — राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीले हिमाली क्षेत्रमा देखिएका असामान्य र विनाशकारी विपद्का लागि सामान्य पूर्वसूचना प्रणाली मात्र पर्याप्त नहुने बताउनुभएको छ।
काठमाडौँमा बिहीबार आयोजित जल सुरक्षा तथा विपद् उत्थानशीलतासम्बन्धी उच्चस्तरीय संवादमा उहाँले हालैको भोटेकोशी–त्रिशूली बाढीबाट भएको क्षति यसको उदाहरण भएको बताउनुभयो। उहाँले वैज्ञानिक सूचनालाई समुदाय र सम्बन्धित निकायले तत्काल निर्णय तथा उद्धारमा प्रयोग गर्न सक्ने गरी कार्ययोग्य बनाउनुपर्नेमा जोड दिनुभयो।
डा उप्रेतीले भोटेकोशी–त्रिशूली बाढीलाई ‘हिमाली सुनामी’को संज्ञा दिँदै बाढी नदीमै सीमित हुन्छ भन्ने आम बुझाइका कारण पनि मानवीय क्षति भएको उल्लेख गर्नुभयो। पूर्वसूचनाले खतरा आउँदैछ भन्ने जानकारी मात्र नभई जोखिमको गम्भीरता बुझाएर मानिसलाई समयमै सुरक्षित स्थानमा पुग्न सक्षम बनाउनुपर्ने उहाँको भनाइ थियो।
संवादमा सहभागीहरूले जलवायु परिवर्तन, हिमनदी पग्लिने क्रम, अनियमित मनसुन र हिमनदी विस्फोटका कारण बढ्दो जल जोखिमबारे छलफल गर्दै पानी सुरक्षा, कृषि, खाद्य सुरक्षा, जनस्वास्थ्य र अर्थतन्त्रसँग जोडिएका जोखिम न्यूनीकरणका लागि विज्ञानमा आधारित नीति, लगानी र तीन तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका थिए।

