गत महिनामा ८८ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए
काठमाडौं,असोज १६ । सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजार २४८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सेप्टेम्बरमा दक्षिण एसियाली मुलुकबाट मात्रै ३० हजार ८५ पर्यटक नेपाल आएका छन् । तीमध्ये सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन् । सेप्टेम्बरमा १७ हजार ४२५ भारतीय पर्यटक नेपाल आएका छन् ।
यसैगरी श्रीलङ्काबाट सात हजार १०८, बङ्गलादेशबाट तीन हजार ९६४, भुटानबाट एक हजार १११, पाकिस्तानबाट ४२९, माल्दिभ्सबाट ४८ र अफगानिस्तानबाट आठ पर्यटक नेपाल आएका छन् ।
अन्य एसियाली मुलुकबाट १९ हजार ८८८ पर्यटक नेपाल आएका छन् । चीनबाट ११ हजार २१२, जापानबाट दुई हजार ६६, दक्षिण कोरियाबाट एक हजार ४१२, थाइल्याण्डबाट ६०१ र भियतनामबाट ६३७ पर्यटक नेपाल आएका छन् ।
युरोपेली मुलुकबाट १५ हजार १४८, ओसियाना क्षेत्रबाट पाँच हजार ४२२, अमेरिकी मुलुकबाट १० हजार १०७, मध्यपूर्वबाट दुई हजार ६०६ र अफ्रिकाबाट चार हजार ५६८ पर्यटक नेपाल भित्रिएका छन् ।
गत वर्षको सेप्टेम्बरमा ७८ हजार ७११ विदेशी पर्यटक नेपाल आएका थिए । गत वर्षको तुलनामा यस वर्ष सेप्टेम्बरमा पर्यटक आगमन बढेको भए पनि भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण अपेक्षित सङ्ख्यामा पर्यटक भित्रिन नसकेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

