धौलीगङ्गा बाँधका ढोका खोलिने, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह



दार्चुला,असोज १६। भारतको उत्तराखण्डस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको सिल्ट सफाइका लागि असोज १७ गते राति १ बजेदेखि असोज १९ गते राति १ बजेसम्म बाँधका ढोका खोलिने भएको छ।

बाँधका ढोका खोल्दा महाकाली नदीको जलस्तर बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ। व्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिका–३ लालीसम्मका बासिन्दालाई नदी किनारमा नजान र सुरक्षित स्थानमा बस्न प्रशासनले अनुरोध गरेको हो।

भारतीय पक्षबाट प्राप्त सूचनाका आधारमा प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले जानकारी दिनुभयो। २८० मेगावाट क्षमताको धौलीगङ्गा जलविद्युत् परियोजनाले वर्षायाममा सिल्ट सफाइका लागि समय–समयमा बाँधका ढोका खोल्ने गरेको छ।

प्रतिक्रिया दिनुहोस्