कांग्रेस महाधिवेशन नजिकिँदै, नेतृत्वका लागि दौडधुप तीव्र



काठमाडौं,असोज १६ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा नयाँ नेतृत्व चयनको बहस र नेताहरूको दौडधुप तीव्र बनेको छ। प्रतिकूल मौसमका कारण दुई दिनपछि सारिएको महाधिवेशन असोज १८ गते काठमाडौंको खुलामञ्चमा उद्घाटन हुँदैछ।

नयाँ कार्यतालिकाअनुसार महाधिवेशन प्रतिनिधिको नाम दर्ता शुक्रबार र शनिबार हुनेछ। असोज १९ र २० गते बन्दसत्र तथा २१ र २२ गते निर्वाचन गर्ने गरी कार्यतालिका तय गरिएको छ।महाधिवेशन नजिकिएसँगै केन्द्रीय पदाधिकारी तथा सदस्यमा उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ। नेताहरूले भेटघाट र परामर्शलाई समेत तीव्र बनाएका छन्। सभापतिमा गगनकुमार थापालाई दोहोर्‍याउने विषयमा युवा पुस्ताका नेताहरू सक्रिय देखिएका छन्।

कांग्रेस महामन्त्री गुरुराज घिमिरेले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताउनुभएको छ। उहाँले उद्घाटनदेखि निर्वाचनसम्मका कार्यक्रमको तयारीमा सम्बन्धित समितिहरू सक्रिय रहेको जानकारी दिँदै नेतृत्व चयनमा सहमतिको प्रयास भइरहेको बताउनुभयो। घिमिरेले आफू पनि महामन्त्री पदमै उम्मेदवारी दिने विषयमा छलफल गरिरहेको बताउनुभएको छ। युवा नेता सांसद निश्कल राईले थापाको नेतृत्वमा कांग्रेस थप सशक्त भएर अघि बढ्ने बताउनुभएको छ।

महामन्त्री पदमा भने प्रतिस्पर्धा बढी हुने देखिएको छ। वर्तमान दुई महामन्त्रीसँगै सहमहामन्त्रीहरू उदयशमशेर राणा र बहादुरसिंह लामाले पनि महामन्त्रीमा आकाङ्क्षा राख्नुभएको छ। डडेलधुरा कांग्रेसले नैनसिंह महरलाई संस्थागत निर्णय गर्दै महामन्त्रीका लागि अघि सार्ने निर्णय गरेको छ। देवराज चालिसे, डा. सुनील शर्मा, अमरसिंह पुन र रञ्जित कर्णलगायत नेताहरूले पनि महामन्त्रीमा दाबी प्रस्तुत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्