एसियाली खेलकुदबाट नेपाली क्रिकेट टोली स्वदेश फिर्ता



काठमाडौँ,असोज १६ । बीसौँ एसियाली खेलकुदमा सहभागी नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ । टोली जापानको टोकियोबाट आज राति काठमाडौँ आइपुगेको हो ।

टोलीलाई नेपाल क्रिकेट सङ्घका पदाधिकारीले स्वागत गरेका छन् । नेपालले प्रतियोगितामा पदक जित्न नसके पनि समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।

नेपालले टेस्ट राष्ट्र अफगानिस्तानलाई पाँच विकेटले पराजित गर्दै १२ वर्षपछि जित निकालेको थियो । समूह चरणको अन्तिम खेलमा आयोजक जापानसँगको खेल वर्षाका कारण प्रभावित भएपछि दुवै टोलीले अङ्क बाँडेका थिए ।

समूह विजेता बनेर क्वार्टरफाइनल पुगेको नेपालले श्रीलङ्कासँग प्रतिस्पर्धा गरेको थियो । उक्त खेल पनि वर्षाका कारण प्रभावित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । नेपाल आइसिसी टी–२० वरियतामा श्रीलङ्काभन्दा पछाडि रहेकाले नतिजा श्रीलङ्काको पक्षमा गएको थियो ।

एसियाली खेलकुदको क्रिकेटतर्फ नेपालले हालसम्म क्वार्टरफाइनल चरण पार गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्