बाढीले फर्से बस्ती बगर बनायो, पूर्वसूचनाले जोगायो मानवीय क्षति
म्याग्दी,असोज १६–पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा असोज ११ गते कालीगण्डकीमा आएको बाढीले करिब एक सय परिवार प्रभावित भएका छन्। बाढीले ७५ घर पूर्ण रूपमा बगाएको छ भने २७ घर जोखिममा परेका छन्। विस्थापित ७५ परिवारका १२९ महिला, १४४ पुरुष र पाँच वर्षमुनिका आठ बालबालिका प्रभावित भएका छन्।
बाढीले घर, गोठ, पशुचौपाया, खेतबारी तथा धनसम्पत्ति बगाएपछि स्थानीय परिवार घरबारविहीन भएका छन्। निर्मला सापकोटा र विष्णुकुमारी हमालका परिवारले वर्षौँको मिहिनेतबाट बनाएको घर तथा पशुपालन फार्मसमेत गुमाएका छन्। स्थानीयका अनुसार अहिले घर भएका ठाउँमा कालीगण्डकी बगेको छ।
असोज १० गते राति ठूलो वर्षाको पूर्वसूचना पाएपछि फर्से युवा क्लबले माइकिङ गरेको थियो। त्यसपछि स्थानीय सुरक्षित स्थानतर्फ लागेकाले मानवीय क्षति हुन नपाएको वडाध्यक्ष हरिविकास जिसीले बताउनुभयो। तर फर्से र बागलुङको ढोडेनी जोड्ने करिब एक सय वर्ष पुरानो झोलुङ्गे पुलसमेत बाढीले बगाएको छ।
फर्से विगतमा व्यापारिक केन्द्र रहे पनि पछिल्लो समय दूध तथा तरकारी उत्पादनको प्रमुख क्षेत्र बनेको थियो। स्थानीय सहकारीले ४० किसानबाट दैनिक ६०० देखि ८०० लिटरसम्म दूध सङ्कलन गर्दै आएकोमा बाढीपछि पशुचौपायाको आहारा र दाना अभाव हुँदा उत्पादन घटेको छ।
स्थानीयले सुरक्षित बसोबास, नदी नियन्त्रण र पुनर्निर्माणको माग गरेका छन्। जलजला गाउँपालिकाले राहत वितरणका लागि सचिवालय स्थापना गरी क्षतिको विवरण सङ्कलन तथा स्वास्थ्य र मनोसामाजिक परामर्श सञ्चालन गरिरहेको छ। गाउँपालिकाले दीर्घकालीन पुनःस्थापना र बस्ती संरक्षणका लागि सङ्घीय तथा प्रदेश सरकारसँग प्रस्ताव गरेको जनाएको छ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फर्सेको निरीक्षण गर्दै पुनर्निर्माण र पुनःस्थापनामा सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ। बाढीले फर्सेको भौतिक संरचना तहसनहस बनाए पनि स्थानीयले सुरक्षित बास र सरकारी सहयोग पाए पुनः आफ्नै गाउँ उठाउने विश्वास व्यक्त गरेका छन्।

