ट्रक र बस ठोक्किँदा चालकको मृत्यु, ११ घाइते



कपिलवस्तु,असोज १६ । कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा ट्रक र बस ठोक्किँदा बस चालकको मृत्यु भएको छ भने ११ जना यात्रु घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गमा शुक्रबार बिहान ६ः१० बजे दुर्घटना भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना.६ ख ३३३३ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको लु.२ ख २४७१ नम्बरको टिप्परलाई ओभरटेक गर्ने क्रममा काठमाडौंबाट बर्दियातर्फ जाँदै गरेको लु.प्र.०३–००१ ख ००९९ नम्बरको बससँग ठोक्किएको थियो।

दुर्घटनामा बाँकेको खजुरा गाउँपालिका–५ का ३४ वर्षीय बस चालक सुमन खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। बसमा सवार ११ जना यात्रु घाइते भएका छन्। घाइते सबैको अवस्था सामान्य रहेको प्रारम्भिक विवरण छ।

दुर्घटनामा संलग्न ट्रक चालक मोरङको कानेपोखरी गाउँपालिका–२ का २४ वर्षीय रूपेश धिमाल र टिप्पर चालक कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ का ३१ वर्षीय सञ्जयकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्