वीरगन्जका सबै मल गोदाम भरिए
वीरगन्ज, असोज १६ । भारतबाट जिटुजी प्रक्रियामार्फत ठूलो परिमाणमा रासायनिक मल भित्रिएपछि वीरगन्जमा रहेका कृषि सामग्री कम्पनीका सबै गोदाम भरिएका छन्।
कम्पनीका १२ वटा आफ्नै र भाडामा लिइएका आठ गरी २० वटा गोदाममा हाल ३३ हजार ८६३ दशमलव ५० मेट्रिक टन मल भण्डारण गरिएको छ। कुल ३५ हजार १०० मेट्रिक टन क्षमताका गोदाममा मल भरिएपछि थप मल राख्न १० हजारदेखि १५ हजार मेट्रिक टन क्षमताका गोदाम खोज्न थालिएको कम्पनीले जनाएको छ।
वीरगन्ज भन्सारमा अझै सात हजार ५०० मेट्रिक टन युरिया र एक हजार ७०० मेट्रिक टन डिएपी रहेको छ। साथै ग्लोबल टेन्डरबाट खरिद गरिएको थप ३० हजार मेट्रिक टन युरिया र ३० हजार मेट्रिक टन डिएपीसमेत आउने क्रममा रहेकाले भण्डारण व्यवस्थापन चुनौतीपूर्ण बनेको छ।
कम्पनीका अनुसार हाल मौज्दात मलमध्ये हिउँदे बालीका लागि १५ हजार ७०० मेट्रिक टन युरिया, आठ हजार ९.६४ मेट्रिक टन डिएपी र तीन हजार ४७१ मेट्रिक टन पोटास रहेको छ। गहुँ र तेलहन बालीका लागि मल आवश्यक पर्ने भए पनि धानका लागि अहिले युरिया र डिएपीको माग नरहेको कम्पनीले जनाएको छ।

