आगिटारदेखि बेत्रावतीसम्म सडक खुल्यो, फलाखुखोलामा बेलिब्रिज निर्माणको तयारी



नुवाकोट,असोज १६ । सडक विभागको टोलीले लामो प्रयासपछि आगिटारदेखि बेत्रावती क्षेत्रसम्मको सडक आज दिउँसोदेखि सञ्चालनमा ल्याउन सफल भएको छ ।

रसुवा र नुवाकोट जोड्ने फलाखुखोलामा बेलिब्रिज निर्माणका लागि नेपाली सेनाले आवश्यक सामग्री खसाल्न सुरु गरेको छ ।सेनाले निर्माण कार्यलाई तीव्रता दिने तयारी गरेकाले सम्भावित रूपमा दसैँअघि नै बेलिब्रिज निर्माण सम्पन्न हुने अपेक्षा गरिएको छ ।

हाल सर्वसाधारणका लागि आगिटार क्षेत्रसम्म मात्रै सवारीसाधन सञ्चालनको सुविधा उपलब्ध छ । सरकारी कामकाजबाहेकका अन्य सवारीसाधनलाई तत्काल बेत्रावतीसम्म जान अनुमति दिइएको छैन । भने पैदल यात्रुलाई भने अवस्था हेरी समयअनुकूल आवतजावत गर्न दिइएको छ ।

सडक सञ्चालनमा आएपछि रसुवा–नुवाकोट आवतजावत गर्ने सर्वसाधारणलाई पैदल यात्राका लागि समेत सहजता थपिएको छ । फलाखुखोलामा बेलिब्रिज निर्माण सम्पन्न भएपछि बेत्रावती हुँदै रसुवा–नुवाकोटबीचको आवतजावत थप सहज हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्