नुवाकोटका विभिन्न स्थानमा विद्युत सेवा बन्द हुने



नुवाकोट,असोज १७। नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रले लाइन मर्मत तथा झाडी सफाइ (बुस कटिङ) कार्यका लागि आइतबार नुवाकोटका विभिन्न स्थानमा विद्युत सेवा बन्द गर्ने भएको छ ।

वितरण केन्द्रका अनुसार भोलि १८ गते बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सातबिसे फिडरअन्तर्गतका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुनेछ । उक्त समयमा दुप्चेश्वर गाउँपालिका–५ को कमारे गाउँ, पञ्चकन्या गाउँपालिका–४ को आरुखर्क तथा तादी गाउँपालिका–२ का चिलाउने, सतार, बाह्रबिसेलगायतका स्थान प्रभावित हुनेछन् ।

त्यस्तै तादी गाउँपालिका–३ अन्तर्गत कोसगाडे, भाले, डाँडागाउँ, कोइरालाचेत, टुटुडु र जोगीगुफा तथा वडा नं ४ का तामे, भंगेरी, सातबिसे र भ्याङ्ले क्षेत्रमा पनि विद्युत सेवा बन्द हुने जनाइएको छ ।

यसैगरी बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म त्रिशूली ८ नं फिडरअन्तर्गत विद्युत सेवा अवरुद्ध हुनेछ । यसबाट विदुर नगरपालिका–१३, म्यागङ गाउँपालिका–३, ५ र ६, बेत्रावती गाउँपालिका–२ तथा नीलकण्ठ नगरपालिका–१४ धुवाकोट क्षेत्र प्रभावित हुनेछन् ।

नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रले विद्युत सेवा बन्द हुँदा ग्राहकमा पर्न जाने असुविधाप्रति क्षमायाचना गरेको छ । तोकिएको समयभन्दा अगावै मर्मत कार्य सम्पन्न भएमा विद्युत सेवा तत्काल सञ्चालन गरिने केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्