बाँदरबाट कम क्षति हुने मेकाडेमिया नट खेतीतर्फ किसान आकर्षित
भोजपुर,असोज १७ । बाँदरबाट कम क्षति हुने र बजारमा राम्रो मूल्य पाउने भएपछि भोजपुरका किसान मेकाडेमिया नट खेतीतर्फ आकर्षित हुन थालेका छन् । जिल्लाका विभिन्न क्षेत्रमा यसको परीक्षण तथा व्यावसायिक खेती विस्तार भइरहेको छ ।
षडानन्द नगरपालिका–१ का किसान जीवन थापाले २०७६ देखि व्यावसायिक रूपमा मेकाडेमिया नट खेती गर्दै आउनुभएको छ । उहाँले पोखराबाट बिरुवा ल्याएर करिब दुई हजार बोट लगाउनुभएको छ । गत वर्ष उहाँले प्रतिकिलो रु दुई हजारका दरले करिब १५० किलो मेकाडेमिया नट बिक्री गर्नुभएको थियो । दाना छुट्याएर गुदी बिक्री गर्दा प्रतिकिलो रु पाँच हजारसम्म मूल्य पाइने उहाँले बताउनुभयो ।
मेकाडेमियाको बोटमा काँडा र फलको बोक्रा कडा हुने भएकाले अन्य बालीको तुलनामा बाँदरबाट कम क्षति हुने किसानको भनाइ छ । उत्पादन लिन केही वर्ष लागे पनि फल दिन थालेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएकाले किसानले यसलाई दीर्घकालीन आम्दानीको स्रोतका रूपमा लिन थालेका छन् ।
टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले मेकाडेमिया नट राम्रो आम्दानीको स्रोत बन्न सक्ने भएकाले खेती विस्तारमा जोड दिइएको बताउनुभयो । गाउँपालिकाले गत वर्ष किसानलाई ४०० बोट निःशुल्क वितरण गरेको र मागअनुसार यस वर्ष पनि बिरुवा वितरण गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।
पौवादुङमा गाउँपालिका–३ का किसान करण राईले परीक्षणका रूपमा लगाएका बोटले फल दिन थालेको बताउँदै व्यावसायिक खेती गर्न सके बजार राम्रो हुने बताउनुभयो । भोजपुरको हावापानी र भौगोलिक अवस्थाले समेत विभिन्न क्षेत्रमा मेकाडेमिया नट खेती विस्तार गर्न सकिने सम्भावना रहेको किसान बताउँछन् ।

