बाढीले क्षतिग्रस्त नुवाकोटका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा



नुवाकोट,असोज १७ । नुवाकोटमा बाढीबाट क्षतिग्रस्त भएका झोलुङ्गे पुलको मर्मत कार्य तीव्र पारिएको छ। हालसम्म दुईवटा झोलुङ्गे पुल मर्मतपछि पूर्णरूपमा सञ्चालनमा आएका छन्। गत भदौ १० गते बुधबार बिहान ल्हेन्दे खोलाबाट त्रिशूली नदीमा आएको बाढीका कारण नुवाकोटका विभिन्न झोलुङ्गे पुलमा क्षति पुगेको थियो।

बिदुर नगरपालिका–३ मैरीटार र बेलकोटगढी नगरपालिका–८ ठूलोखोला जोड्ने झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा आएको हो। पुल सञ्चालनमा आएसँगै स्थानीयवासी, विद्यार्थी, स्वास्थ्यकर्मी तथा सर्वसाधारणलाई आवतजावतमा सहज भएको बेलकोटगढी नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङले बताउनुभयो। उहाँका अनुसार बाढीबाट क्षतिग्रस्त पुल तीन साताको निरन्तर मर्मतपछि सञ्चालनमा ल्याइएको हो।

यसअघि बाढीबाट क्षति पुगेको बेलकोटगढी नगरपालिका–७ र तारकेश्वर गाउँपालिका–२ कल्चेडी जोड्ने झोलुङ्गे पुल पनि मर्मतपछि सञ्चालनमा आइसकेको छ। मर्मत गरिएका पुलबाट आवतजावत गर्दा सुरक्षामा विशेष ध्यान दिन आग्रह गरिएको छ।

वडा अध्यक्ष शिवप्रसाद पनेरुले संयमित र सुरक्षित भएर पुल प्रयोग गर्न आग्रह गर्नुभयो। पुल वारपार गरेपछि विभिन्न स्थानतर्फ जाने बाटो तथा सुरक्षासम्बन्धी जानकारी समेटिएका सूचना बोर्डसमेत राखिएका छन्। स्थानीय युवाले ती सूचना बोर्ड तयार गरेका हुन्।

यसैबीच, नुवाकोटसँग जोडिएको रसुवाको उत्तरगया गाउँपालिका–१, २ र ३ का सर्वसाधारणको आवतजावत सहज बनाउन तुइन सञ्चालनका लागि आवश्यक जाली भर्ने तथा निर्माण कार्य तीव्र पारिएको छ। निर्माण कार्य सम्पन्न भएपछि स्थानीयवासीलाई आवतजावतमा थप सहज हुने स्थानीय युवा दिलकृष्ण श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार तुइन जडानको काम छिट्टै सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्