नेपालमा स्क्रब टाइफसका ९ हजार ८७२ सङ्क्रमित



काठमाडौँ, असोज १७ । नेपालमा सन् २०२६ को जनवरीदेखि हालसम्म नौ हजार ८७२ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ भने हुम्ला, मुगु र डोल्पामा हालसम्म पुष्टि भएको छैन।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो एक महिनामै दुई हजार ७१८ जना सङ्क्रमित थपिएका छन्। सङ्क्रमण सातवटै प्रदेशमा देखिएको छ भने लुम्बिनीमा सबैभन्दा धेरै सङ्क्रमण पुष्टि भएको छ। सल्यानको दार्मा गाउँपालिकामा सङ्क्रमण उच्च देखिएपछि महाशाखाको टोली अध्ययन तथा निगरानीका लागि त्यहाँ पुगेको छ।

स्क्रब टाइफस घाँसे तथा झाडी क्षेत्रमा पाइने सङ्क्रमित सूक्ष्म माइटको टोकाइबाट सर्ने गर्छ। उच्च ज्वरो, टाउको तथा शरीर दुख्ने, जाडो लाग्ने, छालामा बिमिरा आउने र टोकेको स्थानमा कालो दाग देखिनु यसका प्रमुख लक्षण हुन्। समयमै परीक्षण गरी चिकित्सकको सल्लाहअनुसार उपचार गरेमा रोग निको हुने विशेषज्ञले बताएका छन्।

स्वास्थ्यकर्मीले झाडी तथा घाँसपातमा काम गर्दा शरीर ढाकिने कपडा, जुत्ता र पन्जा प्रयोग गर्न तथा घरवरिपरि झाडी सफा राख्न सुझाव दिएका छन्। कोशी प्रदेशमा मात्रै यस वर्ष जनवरीदेखि एक हजार ६८ जनामा सङ्क्रमण पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस्