गल्छी–वेत्रावती सडकमा यातायात सञ्चालन, दसैँअघि रसुवा सडक सञ्जालमा जोडियो
काठमाडौँ, असोज १७ । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण करिब एक महिनादेखि ठप्प रहेको गल्छी–वेत्रावती सडकखण्डमा पुनः यातायात सञ्चालनमा आएको छ। ट्र्याक खोल्ने काम सम्पन्न भएपछि शुक्रबारदेखि सडकमा यातायात सञ्चालन गरिएको हो।
गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाका प्रमुख इन्जिनियर कृष्णनाथ ओझाका अनुसार यातायात सञ्चालनमा आएसँगै सडक सञ्जालबाट विच्छेद भएको रसुवा पुनः जोडिएको छ। दसैँको मुखमा चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी जोड्ने सडक खुलेपछि स्थानीयवासी, यात्रु तथा व्यवसायीलाई राहत पुगेको छ।
गत भदौ १० गते चीनतर्फबाट आएको बाढी र पहिरोले गल्छी–रसुवागढी सडकखण्डको करिब ५५ किलोमिटर क्षेत्रमा क्षति पुर्याएको थियो। बाढीले पुलसमेत बगाएपछि रसुवा सडक सञ्जालबाट पूर्णरूपमा विच्छेद भएको थियो। प्राविधिक टोली र सुरक्षा निकायले चौबिसै घण्टा काम गरी वेत्रावती भिर तथा उत्तरगया पब्लिक स्कुल नजिकको कडा चट्टान छिचोलेर नयाँ ट्र्याक निर्माण गरेका हुन्।
सडकमा यातायात सञ्चालन भए पनि ग्रेड मिलाउने र ग्राभेल हाल्ने काम बाँकी रहेको इन्जिनियर ओझाले बताउनुभयो। बाढीले बगाएका पुलको विकल्पमा बेलिब्रिज निर्माणको कामसमेत अघि बढाइएको छ। नुवाकोटतर्फ बेलिब्रिजको जग तयार भइसकेको छ भने रसुवातर्फको जग निर्माण अन्तिम चरणमा पुगेको छ।
नेपाली सेनाको सहयोगमा बेलिब्रिज जडानको तयारी भइरहेको र एक साताभित्र जडान सम्पन्न गर्ने लक्ष्य राखिएको ओझाले जानकारी दिनुभयो। बेलिब्रिज जडानपछि सडकमार्ग थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।

