मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते



मोरङ,असोज १७ । लेटाङ नगरपालिका–९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

गए राति १०ः३५ बजे जाँते बजारबाट पथरीतर्फ जाँदै गरेको मे ४ प ७४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।दुर्घटनामा मोटरसाइकल चालक झापा घेराबारीका २७ वर्षीय कुमार नेपाली, पछाडि सवार सोही ठाउँका २५ वर्षीय सन्देश नेपाली र मोरङको पथरीशनिश्चरे गाउँपालिका–८ का ३२ वर्षीय अमर नेपाली घाइते भएका थिए।

घाइतेमध्ये कुमार नेपाली र सन्देश नेपालीलाई उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका छन्। कुमारको असोज १६ गते राति १२ बजे मदन भण्डारी अस्पताल, ट्रमा सेन्टर मङ्गलबारेमा र सन्देशको असोज १७ गते राति १२ः०४ बजे विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको हो।

अमर नेपालीको न्युरो अस्पताल, विराटनगरमा उपचार भइरहेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्