हेटौंडामा भेटिएको महिलाको शव दुई महिनापछि पहिचान, हत्यामा भारतीय नागरिक संलग्न रहेको प्रहरीको दाबी



हेटौंडा,असोज १७ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सेल्फी रोड नजिक सामुदायिक वनमा भेटिएको महिलाको शव करिब दुई महिनापछि पहिचान भएको छ। गत साउन २२ गते फेला परेको शव डीएनए परीक्षणपछि भारतकी २२ वर्षीया अफ्रिना प्रविन भन्ने रुची खातुनको रहेको पुष्टि भएको हो।

प्रहरीका अनुसार मृतक भारतको बेतिया बैरिया थाना सरैया भटवलिया–६ निवासी विवाहित महिला हुन्। उनी गत वैशाख ९ गते ६ महिनाकी छोरीसहित श्रीमान्को घरबाट दाँतको उपचारका लागि भन्दै निस्किएपछि सम्पर्कविहीन भएकी थिइन्।

शवको पहिचानका क्रममा प्रहरीले मृतकले लगाएका कपडा, गहनालगायतका सामग्रीका आधारमा भारतीय प्रहरीसँग समन्वय गरी अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा रुची चितवनको भरतपुर महानगरपालिका–३ बेलचोक, नौघरे, गणेशमार्गमा कोठा भाडामा लिएर बस्दै आएका २७ वर्षीय राहुल कुमार गुप्ता भन्ने ईश्वर कुमारसँग बस्दै आएको खुलेको प्रहरीले जनाएको छ।

प्रहरी अनुसन्धानबाट रुची खातुनको हत्या भएको र घटनामा राहुल कुमार गुप्ताको संलग्नता रहेको खुलेको प्रहरीको दाबी छ। मृतककी आमा फातमा खातुनले भदौ ४ गते राहुलविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएकी थिइन्।

डीएनए परीक्षणका क्रममा मृतकको डीएनए उनकी आमाको नमुनासँग मेल खाएपछि असोज १६ गते फातमा खातुनले शव बुझेर भारत लगेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न भनिएका राहुलविरुद्ध भारतको नगर थाना बेतियामा समेत मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ। उनी हाल भारतको कारागार कार्यालय बेतियामा थुनामा रहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्