शिक्षाले समाज, संस्कृति र राष्ट्रप्रति उत्तरदायी नागरिक बनाउनुपर्छ : राष्ट्रपति पौडेल



ललितपुर,असोज १७ । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षाले व्यक्तिलाई आफ्नो समाज, संस्कृति, इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउनुपर्ने बताउनुभएको छ।

शनिबार ललितपुरमा सेन्ट जेभियर्स स्कुल गोदावरी र जावलाखेलको ७५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले शिक्षाको उद्देश्य परीक्षा र प्रमाणपत्रमा मात्र सीमित हुन नहुने बताउनुभयो।

उहाँले शिक्षा व्यक्तिको ज्ञान, विवेक, चरित्र र जिम्मेवारी बोधको विकास गर्ने सशक्त माध्यम भएको उल्लेख गर्नुभयो। शिक्षाले विद्यार्थीलाई आफ्नो समाज, संस्कृति, इतिहास र राष्ट्रप्रति सचेत तथा जिम्मेवार नागरिक बनाउनुपर्ने उहाँको भनाइ थियो।

राष्ट्रपति पौडेलले नेपाल विविध भाषा, संस्कृति, परम्परा र जीवनपद्धतिले समृद्ध देश भएकाले शिक्षाले देशको विविधतालाई सम्मान गर्दै विद्यार्थीमा राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहअस्तित्वको भावना विकास गर्नुपर्ने बताउनुभयो। समय परिवर्तनशील भए पनि आधारभूत मानवीय मूल्यलाई अझ सुदृढ बनाउन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो।

सूचना प्रविधिको तीव्र विकास भइरहेको वर्तमान समयमा कस्तो राष्ट्र निर्माण गर्ने र भविष्यका लागि कस्तो जनशक्ति आवश्यक पर्छ भन्ने प्रश्नको उत्तर शैक्षिक प्रणालीमै खोजिनुपर्ने राष्ट्रपति पौडेलले बताउनुभयो। त्यसका लागि प्रविधिको उच्चतम प्रयोगसँगै समयको मागअनुसार पाठ्यक्रम तथा पठनपाठनमा जोड दिनुपर्ने उहाँको भनाइ थियो।

ज्ञान र सीपसँगै नैतिकता, अनुशासन, सिर्जनशीलता, सहकार्य, करुणा र सामाजिक उत्तरदायित्व भएका नागरिक निर्माण गर्नु आजको शिक्षाको प्रमुख दायित्व रहेको राष्ट्रपति पौडेलले बताउनुभयो।

उहाँले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने गरी स्वदेशमै उत्पादन तथा रोजगारीका अवसर सिर्जना गर्न र नागरिकमा देशभक्तिको भावना अभिवृद्धि गर्ने शिक्षा प्रदान गर्न विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

प्रतिक्रिया दिनुहोस्