दाउन्नेमा बस दुर्घटना : मृत्यु भएका ६ जनाकै सनाखत



नवलपरासी,असोज १७। पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत भएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का अनुसार नेपालगञ्जबाट काठमाडौँतर्फ १८ जना यात्रु लिएर आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा दुर्घटनामा परेको हो।दुर्घटनामा बसमा सवार ६ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

प्रहरीका अनुसार दुर्घटनामा बस चालक बाँकेको खजुरा गाउँपालिका–२ का ३६ वर्षीय सुरेश बिसी, कोहलपुर नगरपालिका–३ का ३२ वर्षीय दीपेन्द्र केसी, कोहलपुर नगरपालिका–१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मी, नेपालगञ्ज उपमहानगरपालिका–७ का २२ वर्षीय कृष कनौजिया, जाजरकोटको भेरीगङ्गा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ गुरुङ र बाजुराको स्वामीकार्तिक गाउँपालिकाका ६५ वर्षीय नरेन्द्रराज गिरीको मृत्यु भएको हो।

घाइते १२ जनालाई प्रारम्भिक उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा लगिएको थियो। प्रारम्भिक उपचारपछि आठ जनालाई थप उपचारका लागि चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो।

अस्पतालले आज दिउँसो जारी गरेको विज्ञप्तिअनुसार अन्य चार जना घाइतेलाई मध्यविन्दु प्रादेशिक अस्पतालमै भर्ना गरी उपचार तथा स्वास्थ्य निगरानीमा राखिएको छ। उनीहरूको चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ।

थप विशेषज्ञ उपचार आवश्यक देखिएका बिरामीलाई आवश्यकताअनुसार सम्बन्धित स्वास्थ्य संस्थामा पठाइएको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्