मदन भण्डारी कप भलिबलको उपाधि नेपाल पुलिस क्लबलाई
बुटवल,असोज १७ । मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ।
बुटवलस्थित बिआइसिसी सम्मेलन केन्द्रमा शनिबार भएको फाइनल खेलमा पुलिसले सभापोखरी भलिबल क्लब सङ्खुवासभालाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो। पुलिसले २५–२३, २५–२३ र २५–२२ को जित निकालेको थियो।
भारतीय खेलाडीको साथ पाएको सभापोखरीले लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरे पनि निर्णायक खेलमा भने पुलिससँग रोकियो। पुलिसले सुरुदेखि नै प्रभावशाली प्रदर्शन गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो।
उपाधिसँगै पुलिसले सात लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। उपविजेता सभापोखरीले तीन लाख ५० हजार रुपैयाँ पाएको छ।यसैगरी विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब तेस्रो भएको छ। तेस्रो स्थानका लागि शनिबार भएको खेलमा एपीएफले खैरा भलिबल क्लब पन्जाबलाई ३–१ को सेटमा पराजित गरेको थियो। एपीएफले १८–२५, २५–१९, २५–१३ र २५–११ को जित निकालेको हो।
तेस्रो भएको एपीएफले एक लाख ७५ हजार रुपैयाँ तथा चौथो भएको खैरा भलिबल क्लबले सान्त्वना पुरस्कारस्वरूप ७५ हजार रुपैयाँ प्राप्त गरे।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी नेपाल पुलिस क्लबका पहल गहतराज घोषित भए। उनले १५ हजार रुपैयाँ पुरस्कार पाए।विधागततर्फ एपीएफका सरोज बर्देवा उत्कृष्ट स्पाइकर, पुलिसका बलराम गुरुङ उत्कृष्ट सेटर, पुलिसका रेशम छन्त्याल उत्कृष्ट सर्भर, सभापोखरीका सिभानसेन भी उत्कृष्ट ब्लकर, सभापोखरीका सन्तोष राई उत्कृष्ट डिफेन्डर र पुलिसका चन्द्र कुँवर उत्कृष्ट प्रशिक्षक घोषित भए। विधागत उत्कृष्ट सबैले जनही आठ हजार रुपैयाँ प्राप्त गरे।
विजेता टोली तथा खेलाडीलाई लुम्बिनी प्रदेशका युवा तथा खेलकुदमन्त्री रामजी घिमिरे, पूर्वमन्त्री एवं नेकपा एमालेका सचिव छविलाल विश्वकर्मा, प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ र विष्णु पन्थी, बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्याल तथा आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यलगायतले पुरस्कार प्रदान गरे।
असोज १२ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपालका चार र विदेशका तीन गरी सात टोलीको सहभागिता थियो। मदन भण्डारी स्पोर्ट्स एकेडेमीले प्रतियोगिताको दोस्रो संस्करण आयोजना गरेको हो। प्रतियोगिताको उद्घाटन तीन दिनअघि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन्।

