परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा सहभागी हुन फिजी प्रस्थान
काठमाडौं,असोज १८ । परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’मा सहभागी हुन गएराति फिजी प्रस्थान गर्नुभएको छ ।
फिजी र टुभालुमा अक्टोबर ५ र ६ तारिखमा आयोजना हुने कार्यक्रममा सहभागी हुन मन्त्री खनालको नेतृत्वमा चार सदस्यीय नेपाली प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको हो।
परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले अक्टोबर ६ तारिखमा हुने नेताहरूको पूर्ण सत्रमा सम्बोधन गर्नुहुनेछ। उक्त सत्रअघि उहाँले पलाउका राष्ट्रपति तथा अष्ट्रेलिया र फिजीका प्रधानमन्त्रीसँग संयुक्त रूपमा आयोजना हुने सञ्चारकर्मीसँगको प्रश्नोत्तर कार्यक्रममा समेत सहभागिता जनाउनुहुनेछ।
जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी संवाद र सहकार्यलाई अघि बढाउने उद्देश्यले आयोजना हुने कार्यक्रममा नेपालको सहभागितामार्फत जलवायु परिवर्तनका असर, जलवायु न्याय तथा हिमाली राष्ट्रका सरोकारका विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाउने अवसर प्राप्त हुने अपेक्षा गरिएको छ।
फिजी र टुभालुको कार्यक्रमपछि परराष्ट्रमन्त्री खनाल अष्ट्रेलिया प्रस्थान गर्नुहुनेछ। उहाँले अक्टोबर ८ तारिखमा अष्ट्रेलियाकी विदेशमन्त्री पेनी वङसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम छ।
भेटवार्तामा नेपाल–अष्ट्रेलिया सम्बन्ध, द्विपक्षीय सहकार्य तथा आपसी हितका विविध विषयमा छलफल हुने अपेक्षा गरिएको छ।अष्ट्रेलिया भ्रमणका क्रममा मन्त्री खनालले क्यानबेरास्थित नेपाली दूतावास र सिड्नीमा रहेका नेपाली समुदायले छुट्टाछुट्टै आयोजना गर्ने कार्यक्रममा समेत सहभागिता जनाउनुहुनेछ। ती कार्यक्रममा उहाँले अष्ट्रेलियामा रहेका नेपाली समुदायसँग अन्तर्क्रिया गर्नुहुने मन्त्रालयले जनाएको छ।
मन्त्री खनाल अक्टोबर १२ तारिखमा नेपाल फर्कने कार्यक्रम रहेको छ। रासस

