बेत्रावतीका लागि ल्याइयो एक्रोब्रिजका सामग्री
नुवाकोट,असोज १८ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले नुवाकोटको बेत्रावतीस्थित फलाकु खोलामा रहेका दुईवटा पक्की पुल बगाएपछि यातायात सम्पर्क पुनःस्थापित गर्न एक्रोब्रिज जडानका सामग्री ल्याइएको छ।
नेपाली सेनामार्फत जडान गर्न लागिएको एक्रोब्रिजका सामग्री बोकेका सवारीसाधन शनिबार साँझ विदुर आइपुगेका हुन्।
बेत्रावतीस्थित फलाकु खोलामा एक्रोब्रिज जडान गरी नुवाकोट र रसुवाबीचको यातायात सम्पर्क पुनः जोड्ने तयारी गरिएको हो।
बाढीले पुल बगाएपछि रसुवा आवतजावतमा समस्या हुँदै आएको छ। एक्रोब्रिज जडान भएपछि बेत्रावती हुँदै रसुवासम्मको यातायात सञ्चालनमा सहजता आउने अपेक्षा गरिएको छ।
यसअघि छोटो समयमै सेनाले देविघाटमा एक्रोब्रिज निर्माण गरिसकेको छ ।

