३८ दिनपछि ढुंगे–बेत्रावती सडक खुल्यो, बेलिब्रिज जडानको तयारी
नुवाकोट,असोज १८– ल्हेन्देखोलाबाट रसुवागढी हुँदै त्रिशूली नदीमा मिसिएको अकल्पनीय बाढीले क्षतिग्रस्त बनाएको नुवाकोटको मुख्य सडक ३८ दिनपछि सञ्चालनमा आएको छ। तीन सातादेखि जारी नयाँ ट्र्याक खोल्ने काम शुक्रबार सम्पन्न भएसँगै पासाङल्हामु मार्गअन्तर्गतको ढुंगे–बेत्रावती सडकखण्ड पुनः सञ्चालनमा आएको हो।
बाढीले सडक कटान गरेपछि दैनिक स्काभेटरलगायतका भारी उपकरण प्रयोग गरी नयाँ ट्र्याक खोलिएको हो। विदुर नगरपालिका–१० बेत्रावती क्षेत्रमा मात्रै करिब दुई किलोमिटर नयाँ ट्र्याक निर्माण गरिएको वडाध्यक्ष गणेशकुमार नेपालले जानकारी दिनुभयो। उहाँका अनुसार बेत्रावती–सातबिसे क्षेत्रमा दैनिक १० वटा स्काभेटर परिचालन गरी सडक खोल्ने काम गरिएको थियो।
नयाँ ट्र्याक खुलेसँगै बेत्रावतीको फलाखु खोलामा बेलिब्रिज निर्माणको तयारी अघि बढाइएको छ। बेलिब्रिज निर्माणका लागि आवश्यक सामग्री ट्रिपरमार्फत निर्माणस्थलमा ल्याएर झार्ने काम सुरु भएको स्थानीयवासीले बताएका छन्। शुक्रबार पाँचवटा ट्रिपरमार्फत बेलिब्रिजका सामग्री निर्माणस्थलमा ल्याइएको हो।
वडाध्यक्ष नेपालका अनुसार असोज २१ गतेदेखि नेपाली सेनाले बेलिब्रिज जडानको काम सुरु गर्ने तयारी गरेको छ। बेलिब्रिज निर्माणपछि नुवाकोट र रसुवाबीचको यातायात सम्पर्क पुनः स्थापित हुने अपेक्षा गरिएको छ। बेलिब्रिजका दुवैतर्फ आवश्यक फाउन्डेसन तथा बेस ढलानको काम यसअघि नै सम्पन्न भइसकेको छ।
फलाखु खोलामा बेलिब्रिज निर्माणका लागि आवश्यक सामग्रीसमेत निर्माणस्थलमा आइपुगेको स्थानीय युवा दिलकृष्ण श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार बेलिब्रिज जडान सम्पन्न भएपछि बाढीका कारण अवरुद्ध नुवाकोट–बेत्रावती–रसुवा सडकखण्डमा सवारीसाधन सञ्चालन सहज हुनेछ।
बाढीले बेत्रावतीमा सडकखण्डका दुईवटा पक्की पुल बगाएपछि नुवाकोट र रसुवाबीचको मुख्य यातायात सम्पर्क टुटेको थियो। सडक सञ्चालनमा समस्या भएपछि स्थानीयवासीले सुरक्षाकर्मीको सहयोगमा काठ, बाँस र डोरीको फड्के निर्माण गरेका थिए। सोही फड्केमार्फत पछिल्लो दुई सातादेखि पैदल यात्रुले आवतजावत गर्दै आएका छन्।
नुवाकोटतर्फबाट बेत्रावतीसम्म पुग्ने वैकल्पिक मार्गसमेत प्रयोगमा ल्याइएको छ। बाढीले सातबिसे–बेत्रावती क्षेत्रमा उत्तरगया बोर्डिङ स्कुलनजिक सडक कटान गर्नुका साथै ठूलो पहिरो खसेपछि दैनिक स्काभेटर परिचालन गरी सडक खुलाउने काम गरिएको थियो।
हाल गेर्खुको शुभघाट क्षेत्रमा पनि स्काभेटरको सहायताले नयाँ ट्र्याक खोल्ने काम तीव्र रूपमा भइरहेको गल्छी–रसुवागढी सडक योजना कार्यालय, विदुरले जनाएको छ। नेपाली सेना र सडक विभागका प्राविधिक तथा दक्ष जनशक्तिले संयुक्त रूपमा सडक पुनःनिर्माण तथा आवागमन सहज बनाउने काम गरिरहेका छन्।
बिदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले नुवाकोट–बेत्रावती–रसुवा सडकखण्ड पुनः सञ्चालनतर्फ तीव्र गतिमा अघि बढिरहेको बताउनुभएको छ। उहाँका अनुसार सडक तथा पुल निर्माणको कामले गति लिएसँगै बाढीबाट प्रभावित क्षेत्रको यातायात सेवा क्रमशः सहज बन्दै गएको छ।
सडक डिभिजन नुवाकोटका अनुसार बेलिब्रिज जडान सम्पन्न भएपछि बाढीका कारण टुटेको रसुवासँगको मुख्य सडक सञ्जाल औपचारिक रूपमा पुनः जोडिनेछ। वीरगन्ज–गल्छी–ढुंगे–बेत्रावती–स्याफ्रुबेंसी–रसुवागढी जोड्ने त्रिदेशीय मार्गअन्तर्गत फलाखु खोलामा बेलिब्रिज निर्माण हुन लागेको हो।
बाढीबाट क्षतिग्रस्त सडक र पुल पुनःनिर्माणमा खटिएका नेपाली सेना, सुरक्षाकर्मी, प्राविधिक टोली, उपकरण सञ्चालक, स्थानीयवासी तथा सहयोगी सबैप्रति स्थानीयले आभार व्यक्त गरेका छन्। बेत्रावतीका बाढीपीडित अष्टमान डंगोलले सबैको संयुक्त प्रयासले सडक तथा यातायात सेवा छिट्टै नियमित हुने विश्वास व्यक्त गर्नुभयो।

