बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नुवाकोटमा राहत



विदुर,असोज १८– त्रिशूली नदीमा आएको अकल्पनीय बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका राष्ट्रसेवक कर्मचारीका परिवारलाई नुवाकोटमा आर्थिक सहयोग वितरण गरिएको छ। शनिबार विदुरमा आयोजित कार्यक्रममा प्रभावित परिवारलाई नगद राहत हस्तान्तरण गरिएको हो।

नुवाकोटलाई जन्मथलो बनाई विभिन्न क्षेत्रमा कार्यरत कर्मचारीहरूको साझा संस्था ‘राष्ट्रसेवक कर्मचारी समाज नुवाकोट’ ले प्रभावित परिवारलाई जनही २५ हजार रुपैयाँका दरले राहत रकम उपलब्ध गराएको समाजका कोषाध्यक्ष कृष्णराज खतिवडाले जानकारी दिनुभयो।

उहाँका अनुसार गत भदौ १० गते आएको बाढीका कारण नुवाकोटका स्थायी तथा अस्थायी गरी २० जना राष्ट्रसेवक कर्मचारीको मृत्यु वा बेपत्ता भएको तथ्याङ्क छ। पहिलो चरणमा ११ जना प्रभावित कर्मचारीका परिवारलाई राहत रकम हस्तान्तरण गरिएको हो।

बाँकी नौ परिवारलाई उनीहरूलाई पायक पर्ने स्थानमै पुगेर राहत रकम उपलब्ध गराइने समाजका सदस्य कृष्ण पुडासैनीले जानकारी दिनुभयो।

राहतका लागि समाजमा आबद्ध ८३ जना कर्मचारीबाट दुई लाख ९० हजार रुपैयाँ सङ्कलन गरिएको थियो। समाजको आफ्नै कोषबाट थप दुई लाख रुपैयाँ जुटाएर राहत रकम वितरण गरिएको पुडासैनीले बताउनुभयो।

निजामती कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, प्राधिकरण तथा अस्पतालमा कार्यरत बाढीमा परी मृत्यु भएका वा बेपत्ता कर्मचारीका परिवारलाई राहत रकम उपलब्ध गराइएको समाजले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्