आजदेखि कांग्रेस महाधिवेशन: प्रतिनिधिका सवारी पार्किङका लागि विभिन्न स्थान तोकियो
काठमाडौँ,असोज १८– नेपाली कांग्रेसको आजदेखि काठमाडौँमा सुरु हुन लागेको १५औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिका सवारीसाधन पार्किङका लागि विभिन्न स्थानमा व्यवस्था गरिएको छ।
कांग्रेस केन्द्रीय सदस्य एवं महाधिवेशन यातायात व्यवस्थापन समितिका संयोजक विजयबहादुर स्वाँरका अनुसार ट्राफिक प्रहरीसँगको समन्वयमा खुलामञ्चमा आउने प्रतिनिधिका सवारीसाधन पार्किङका लागि विभिन्न स्थान तोकिएको हो।
उहाँका अनुसार धरहराको भूमिगत पार्किङ, माइतीघरदेखि भद्रकालीसम्मको एकतर्फी सडकको एक भाग तथा दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा पार्किङको व्यवस्था गरिएको छ।
यस्तै, पुरानो बसपार्क आसपास र भृकुटीमण्डपभित्र पनि केही सवारीसाधन पार्किङ गर्नेगरी ट्राफिक प्रहरीसँग समन्वय भइरहेको संयोजक स्वाँरले जानकारी दिनुभयो।
कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन असोज २२ गतेसम्म सञ्चालन हुनेछ। महाधिवेशनमा देशभर तथा जनसम्पर्क समितिमार्फत सात हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने जनाइएको छ।

