म्याग्दीमा विपद्पछि पुनर्निर्माणमा जुट्यो समुदाय
म्याग्दी,असोज १८ । म्याग्दीमा असोज ८ देखि ११ गतेसम्मको निरन्तर वर्षापछि बाढीपहिरोले सडक, घर, विद्युत् तथा अन्य पूर्वाधारमा ठूलो क्षति पुर्याए पनि स्थानीय बासिन्दा, युवा, सामाजिक संस्था, राजनीतिक दल र व्यवसायी पुनर्निर्माण तथा पुनःस्थापनामा जुटेका छन्।
बेनी–जोमसोम–कोरला सडक खुलाउन सुरक्षाकर्मी र स्वयंसेवकले ७२० लिटर डिजेल बोकेर पुर्याएका छन् भने कालीगण्डकी ‘गर्ज’ जलविद्युत् आयोजनाले थप दुई हजार ५०० लिटर डिजेल सापटी दिएको छ। स्थानीय युवाले सडकमा श्रमदानसमेत गरिरहेका छन्।
विद्युत्का पोल गाड्ने र तार तान्ने काममा स्थानीय युवाको सहभागितापछि बरंजा र ताकममा एक सातापछि विद्युत् सेवा सञ्चालन भएको छ। बेनी–८ न्युरोडमा पहिरोले क्षति पुर्याएका घर तथा बजार क्षेत्रको सरसफाइमा स्थानीय, जनप्रतिनिधि र विभिन्न संघसंस्था जुटेका छन्।
बाढीले क्षति पुर्याएको सिङ्गा तातोपानी कुण्ड दसैँअघि सञ्चालनमा ल्याउने लक्ष्यसहित स्थानीयले सरसफाइ गरिरहेका छन्। विपद्पछि प्रवासी म्याग्देली संघले १५ लाख र गैरआवासीय नेपाली संघले ११ लाख रुपैयाँबराबरको राहत सामग्री सहयोग गरेका छन्।
म्याग्दीमा बाढीपहिरोमा परी सात जनाको मृत्यु र दुई जना बेपत्ता छन्। १११ घर पूर्ण तथा ९३ घर आंशिक क्षतिग्रस्त भएका छन् भने ३४२ घर जोखिममा रहेको प्रशासनले जनाएको छ। अन्नपूर्ण गाउँपालिकाका विभिन्न बस्तीबाट ११५ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
यसैबीच पर्वतको जलजला गाउँपालिका–८ फर्सेका बाढी प्रभावितका लागि अनुग्रह सत्सङ्ग नेपालले पाँच लाख २७ हजार रुपैयाँ सहयोग गरेको छ। कालीगण्डकीको बाढीबाट फर्सेका करिब १०० परिवार प्रभावित भएका छन् भने ७५ घर पूर्णरूपमा क्षतिग्रस्त र २७ घर जोखिममा छन्।

