कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सोमबार
काठमाडौं,असोज १८ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता सोमबार हुने भएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असोज १९ गते सोमबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरिनेछ।
निर्वाचन समितिका सदस्य–सचिव राजु कडुवालद्वारा जारी विज्ञप्तिमा तोकिएको समयभित्र सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधि सदस्य तथा महाधिवेशनबाट उम्मेदवार बन्न योग्य व्यक्तिले मनोनयनपत्र दर्ता गर्न सक्ने उल्लेख छ।
केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि आवश्यक निर्वाचन कार्यक्रमसम्बन्धी विस्तृत विवरण भने पछि प्रकाशित गरिने निर्वाचन समितिले जनाएको छ।
मनोनयन दर्ताको मिति तय भएसँगै सभापति, पदाधिकारी तथा केन्द्रीय सदस्यका आकांक्षीहरूको उम्मेदवारी प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने भएको छ। विभिन्न पदका आकांक्षीहरूले उम्मेदवारी घोषणा गर्ने क्रमसमेत जारी छ।
निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिहरूलाई निर्धारित समयभित्र उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न सूचित गरेको छ।

