प्रधानमन्त्री शाह मङ्सिर ६ गते भारत भ्रमणमा जाने, कनेक्टिभिटी विस्तार प्राथमिकतामा



काठमाडौं,मंसिर २ । प्रधानमन्त्री वालेन्द्र शाह आगामी मङ्सिर ६ गते भारतको दुईदिने औपचारिक भ्रमणमा जाने हुनुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको भ्रमणको तयारी परराष्ट्र मन्त्रालयले तीव्र पारेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भ्रमणको तयारी भइरहेको जानकारी दिँदै दुई देशबीच कनेक्टिभिटी विस्तार, विकास सहायता, पर्यटन प्रवर्द्धन र जनस्तरको सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल हुने बताउनुभयो ।

भ्रमणका क्रममा हवाई, रेल तथा सडक सञ्जाल विस्तार र ऊर्जा पूर्वाधार विकासका विषय प्राथमिकतामा रहने जनाइएको छ । नेपाललाई थप हवाई प्रवेश बिन्दु उपलब्ध गराउने, हवाई सेवा विस्तार गर्ने तथा रेल र सडक सञ्जाललाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ ।

रेलवे कनेक्टिभिटीअन्तर्गत जनकपुर–अयोध्या रेलसेवा शुभारम्भ, जयनगर–जनकपुर रेलसेवा बर्दिबाससम्म विस्तार तथा रक्सौल–काठमाडौँ रेलमार्ग निर्माणको सम्भावनाबारे छलफल हुने अपेक्षा गरिएको छ ।

त्यस्तै, सडक तथा पुल निर्माण, एकीकृत जाँच चौकी स्थापना, विद्युत् प्रसारण लाइन विस्तार र विपद्पछिको पुनर्निर्माणमा भारतीय सहयोग अभिवृद्धिका विषय पनि भ्रमणका एजेन्डामा समेटिनेछन् ।

दुई देशबीच नागरिकस्तरको सम्बन्ध विस्तार तथा सीमापार भुक्तानी प्रणालीलाई सहज र प्रभावकारी बनाउने विषयमा समेत छलफल हुने सम्भावना छ ।

प्रधानमन्त्री शाहले गत चैत १३ गते पदभार सम्हालेपछि असोज ६ गते संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन पहिलो विदेश भ्रमण गर्नुभएको थियो । आसन्न भारत भ्रमण प्रधानमन्त्री बनेपछि छिमेकी मुलुकमा हुन लागेको उहाँको पहिलो औपचारिक भ्रमण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्