कामिल मिशाराको शतकमा चितवन राइनोज ६१ रनले विजयी
काठमाडौं,मंसिर २ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत एलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजलाई ६१ रनले पराजित गर्दै चितवन राइनोज दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०४ रन बनाएको थियो ।
चितवनका लागि ओपनर कामिल मिशाराले शतकीय पारी खेले । उनले ५९ बलमा १० छक्का र पाँच चौकाको मद्दतमा अविजित १२० रन बनाए । उनी जारी एनपिएलमा शतक प्रहार गर्ने दोस्रो ब्याटर बनेका छन् ।
त्यस्तै, चितवनका कप्तान रवि बोपाराले ४२ बलमा तीन चौका र दुई छक्कासहित ५३ रन बनाए । देव खनालले १५ बलमा दुई चौका र एक छक्काको मद्दतमा १७ रन जोडे ।
२०५ रनको लक्ष्य पछ्याएको काठमाडौँ गोर्खाजले लक्ष्य पूरा गर्न नसकेपछि ६१ रनको हार बेहोर्नुपर्यो ।
यस जितसँगै चितवनले दोस्रो क्वालिफायरमा स्थान बनाएको छ । चितवनले बिहीबार हुने खेलमा सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेलको विजेता टोलीले उपाधिका लागि फाइनलमा लुम्बिनी लायन्ससँग खेल्नेछ ।

