हेटौंडा–ढल्केबर प्रसारण लाइन अन्तिम चरणमा, दसैँलगत्तै चार्ज गर्ने तयारी
काठमाडौं,असोज १८ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनअन्तर्गत निर्माणाधीन मल्टिसर्किट टावरको निरीक्षण गर्नुभएको छ।
मन्त्री श्रेष्ठले हेटौंडा–ढल्केबर ४०० केभी सबस्टेसनमा पुगेर निर्माणाधीन दुईवटा मल्टिसर्किट टावरको कार्यप्रगति र निर्माण अवस्थाबारे जानकारी लिनुभएको हो। निरीक्षणका क्रममा उहाँले नेपालको ऊर्जा क्षेत्रको मेरुदण्डका रूपमा रहेको प्रसारण लाइनका बाँकी काम समयमै सम्पन्न गर्न निर्देशन दिनुभयो।
करिब १२ वर्षदेखि रोकिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम अघि बढाउन मन्त्री श्रेष्ठको पहलमा मन्त्रिपरिषद्बाट निर्णय गराई प्रक्रिया अघि बढाइएको थियो। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले मन्त्री श्रेष्ठको पहलमा लामो समयदेखि रोकिएको आयोजना अन्तिम चरणमा पुगेको बताउनुभयो।
उहाँका अनुसार हेटौंडा–ढल्केबर प्रसारण लाइनअन्तर्गतका १६ वटा टावरमध्ये १४ वटा डबल सर्किट टावर निर्माण भइसकेका छन् भने बाँकी दुईवटा मल्टिसर्किट टावर निर्माणको अन्तिम चरणमा छन्। ती दुवै टावर १० देखि १५ दिनभित्र सम्पन्न गरी प्रसारण लाइन चार्ज गर्ने तयारी रहेको उहाँले बताउनुभयो।
कार्यकारी निर्देशक श्रेष्ठले प्रसारण लाइनलाई प्रणालीको ‘ब्याकबोन’ का रूपमा लिइएको भन्दै यसको निर्माण सम्पन्न भएपछि विद्युत् आपूर्तिको विश्वसनीयता बढ्नुका साथै विद्युत् खपत र निर्यात दुवै विस्तार गर्न सकिने बताउनुभयो। उहाँले दसैँलगत्तै प्रसारण लाइन चार्ज गर्ने तयारी भइरहेको जानकारी दिनुभयो।
मन्त्री श्रेष्ठले हेटौंडा–ढल्केबर प्रसारण लाइन नेपालको ऊर्जा क्षेत्रको मेरुदण्ड भएको बताउनुभयो। लामो समयदेखि रोकिएको १६ वटा टावरको काम अघि बढ्नु महत्वपूर्ण उपलब्धि भएको उहाँको भनाइ छ।
प्रसारण लाइन निर्माण सम्पन्न भएपछि बुटवल, इनरुवा र ढल्केबरलगायत क्षेत्रबीच विद्युत् प्रवाह सहज हुने तथा देशभर विद्युत् प्रवाहका लागि थप बलियो ऊर्जा राजमार्ग निर्माण हुने मन्त्री श्रेष्ठले बताउनुभयो।
उहाँले प्रसारण लाइन चार्ज भएपछि नेपालको विद्युत् प्रणाली थप सन्तुलित र गुणस्तरीय हुने बताउँदै अहिले करिब ३०० मेगावाट क्षमतामा विद्युत् प्रवाह भइरहेको यस खण्डको क्षमता आयोजना सम्पन्न भएपछि करिब २ हजार मेगावाट पुग्ने जानकारी दिनुभयो।
मन्त्री श्रेष्ठका अनुसार हेटौंडा–ढल्केबर खण्ड सम्पन्न भएपछि पूर्व–पश्चिम विद्युत् प्रवाह थप सुदृढ, भरपर्दो र दिगो हुनेछ। यसले देशभित्रको विद्युत् आपूर्ति प्रणाली बलियो बनाउनुका साथै बढ्दो औद्योगिक विद्युत् माग सम्बोधन गर्न सहयोग पुर्याउनेछ।
त्यस्तै, प्रसारण लाइनले अन्तर्देशीय विद्युत् व्यापार विस्तार गर्न तथा वर्षायाममा उत्पादन हुने विद्युत् खेर जान नदिन समेत महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो। आयोजना सम्पन्न भएपछि राष्ट्रिय ग्रिडको विश्वसनीयता र विद्युत् व्यापारको सम्भावना थप विस्तार हुने मन्त्री श्रेष्ठको भनाइ छ।

