दसैँ नजिकिएसँगै राजधानीका बजारमा बढ्यो चहलपहल
काठमाडौँ, असोज १८ । बडादसैँ नजिकिएसँगै काठमाडौँका भृकुटीमण्डप, असन, इन्द्रचोक, न्यूरोड, सुन्धारा, नयाँसडकलगायत खुला बजारमा किनमेल गर्ने ग्राहकको चाप बढेको छ ।
दसैँका लागि परिवारका सदस्य, आफन्त तथा बालबालिकाका लागि नयाँ कपडा तथा आवश्यक सामग्री खरिद गर्ने ग्राहकको सङ्ख्या बढेपछि बजारमा व्यापारीसमेत व्यस्त भएका छन् । भृकुटीमण्डपस्थित खुला बजारका फेन्सी पसलका व्यापारी अशोक खतिवडाले केही दिनयता ग्राहकको आवागमन उल्लेख्य रूपमा बढेको बताउनुभयो ।
उहाँका अनुसार विशेषगरी बालबालिका, युवा तथा ज्येष्ठ नागरिकका लागि कपडा खरिद गर्ने ग्राहक बढेका छन् । “दसैँ नजिकिँदै गएपछि कपडा किन्ने ग्राहकको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ । आज बिहानदेखि बजारमा पहिलेभन्दा बढी चहलपहल देखिएको छ”, उहाँले भन्नुभयो ।
दसैँमा नयाँ कपडा लगाउने नेपाली परम्परा रहेकाले चाडपर्वको समयमा कपडाको व्यापार बढ्ने गरेको अर्का व्यापारी श्यामप्रकाश अधिकारीले बताउनुभयो । ग्राहकको चाप बढेसँगै सामान देखाउने, रोजाइअनुसार कपडा छनोट गराउने, मूल्य बताउने तथा बिक्री व्यवस्थापन गर्न व्यापारीलाई भ्याइनभ्याइ हुने गरेको उहाँको भनाइ छ ।
“भृकुटीमण्डपमा दसैँका लागि आवश्यक कपडादेखि जुत्ता, चप्पल, बालबालिकाका सामग्री तथा दैनिक उपभोगका विभिन्न सामान खरिद गर्ने ग्राहकको उपस्थिति बढेको छ”, उहाँले भन्नुभयो ।
एउटै स्थानमा विभिन्न प्रकारका सामान उपलब्ध हुनुका साथै आफ्नो बजेटअनुसार सामान छनोट गर्न सकिने भएकाले खुला बजार ग्राहकको रोजाइमा पर्ने गरेको व्यापारीहरू बताउँछन् । विशेषगरी सीमित आम्दानी भएका परिवारले चाडपर्वमा तुलनात्मक रूपमा सस्तो बजार रोज्ने गरेका छन् ।
काठमाडौँ उपत्यकाका खुला बजार तथा सडक किनारका पसलमा ठूला व्यापारिक केन्द्रको तुलनामा केही सस्तोमा लुगा, कपडा तथा अन्य सामग्री पाइने भएकाले ग्राहकको आकर्षण बढेको व्यापारीहरूको भनाइ छ ।
सुन्धारास्थित रात्रिकालीन सडकपेटीमा लुगा तथा कपडा बिक्री गर्दै आउनुभएकी सङ्गीता न्यौपानेले पनि दसैँ नजिकिएसँगै ग्राहकको आवागमन बढेको बताउनुभयो । चाडपर्वमा परिवारका सबै सदस्यका लागि कपडा खरिद गर्नुपर्ने भएकाले ग्राहकले मूल्यसँगै गुणस्तरलाई समेत ध्यान दिने गरेको उहाँले बताउनुभयो ।
दसैँसँगै मौसममा क्रमिक सुधार हुन थालेकाले चिसो मौसमका लागि आवश्यक कपडा खरिद गर्ने ग्राहक पनि बजारमा देखिन थालेका छन् । विशेषगरी ज्याकेट, स्विटर, ट्र्याकसुट, हुडी तथा अन्य न्यानो कपडा खरिद गर्ने ग्राहकको सङ्ख्या बढ्दै गएको व्यापारी हरिकृष्ण कँडेलले बताउनुभयो ।
दसैँलगायत चाडपर्व नजिकिँदै जाँदा राजधानीका प्रमुख बजारमा ग्राहकको चाप अझै बढ्ने व्यवसायीको अपेक्षा छ । उपत्यकाका साथै बाहिरी जिल्लाबाट चाडपर्वका लागि काठमाडौँ आएका नागरिकसमेत आवश्यक सामग्री खरिद गर्न बजारमा व्यस्त हुन थालेका छन् ।
व्यापारीहरूले दसैँलाई लक्षित गरी विभिन्न प्रकारका सामानको मौज्दातसमेत बढाएका छन् । ग्राहकको मागअनुसार बालबालिका, महिला तथा पुरुषका लागि विभिन्न डिजाइन, रङ र मूल्यका कपडा बजारमा राखिएको उनीहरूले बताएका छन् ।

