संसद र पार्टीभित्रै खुलापन आवश्यक छ : गगन थापा
काठमाडौं,असोज १८ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचार राख्नका लागि खुला ठाउँ आवश्यक रहेको बताउनुभएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले संसद् र पार्टीभित्र पर्याप्त खुलापन नभएकाले देशलाई खुलामञ्च आवश्यक परेको बताउनुभयो। उहाँले १० वर्षपछि खुलामञ्च खुलेको उल्लेख गर्दै यो काठमाडौंको एउटा चौर मात्रै नभएको बताउनुभयो।
‘खुलामञ्च १० वर्षपछि खुलेको छ। यो काठमाडौंको चौर मात्रै होइन,’ थापाले भन्नुभयो, ‘यहाँ बसेर ठूला दल बनेका छन्, यहीँबाट साना पनि बनेका छन्।’
उहाँले जननायक बीपी कोइराला, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालालगायत नेताले समेत खुलामञ्चबाट सम्बोधन गरेको स्मरण गर्नुभयो। खुलामञ्चले फरक विचार र मतभेदलाई एउटै ठाउँमा ल्याएर संवाद गर्ने अवसर दिएको उहाँको भनाइ थियो।
थापाले अब देशका विभिन्न ठाउँमा यस्ता खुला संवादका थलो आवश्यक रहेको बताउनुभयो। त्यसका लागि सबैभन्दा पहिले सिंहदरबार र संसद्भित्रै खुलापन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो।
‘संसद् अहिले खुला छैन। जनतालाई प्रधानमन्त्रीले जनताको ठूलो कुरा नसुनेसम्म खुला रहँदैन,’ उहाँले भन्नुभयो। सत्तामा रहेकाहरूले जनताको प्रश्न सुन्ने र जनतासँग संवाद गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिँदै थापाले लोकतन्त्रमा जनताको आवाजलाई बन्द गर्न नहुने बताउनुभयो। संसद् जनताको आवाज र प्रश्नको प्रतिनिधित्व गर्ने थलो भएकाले यसलाई थप खुला र उत्तरदायी बनाउनुपर्ने उहाँको भनाइ थियो।
पहाडदेखि तराईसम्म तथा भौतिक स्थानदेखि विद्युतीय माध्यमसम्म खुला संवादका थलो आवश्यक रहेको थापाले बताउनुभयो। नागरिकले आफ्ना कुरा राख्न र नेतृत्वलाई प्रश्न गर्न पाउने वातावरण देशभर बनाउनुपर्ने उहाँको धारणा थियो।
पार्टीभित्र पनि प्रश्न र असहमतिका लागि खुला वातावरण आवश्यक रहेको बताउँदै थापाले नेतामाथि प्रश्न उठाउँदा पार्टी सदस्यता नै गुम्ने अवस्था अन्त्य गर्नुपर्ने बताउनुभयो। ‘पार्टीभित्र पनि खुलामञ्च चाहिएको छ। नेतालाई प्रश्न गर्दा सदस्यता नकाटियोस्,’ उहाँले भन्नुभयो।
फरक मत राख्ने, नेतृत्वलाई प्रश्न गर्ने र आलोचना गर्ने अधिकारलाई पार्टीभित्रै संस्थागत गर्नुपर्नेमा जोड दिँदै थापाले लोकतन्त्र बाहिर मात्रै खोजेर नहुने बताउनुभयो। राजनीतिक दलको आन्तरिक संरचना र कार्यशैली पनि लोकतान्त्रिक हुनुपर्ने उहाँको भनाइ थियो।
‘संसद् बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ,’ थापाले भन्नुभयो। १० वर्षपछि खुलामञ्चमा कांग्रेसको महाधिवेशन आयोजना हुनु खुला संवाद र जनताबीचको सम्बन्ध पुनः स्थापित गर्ने प्रतीक भएको उहाँले बताउनुभयो।
खुलामञ्चलाई राजनीतिक सभा गर्ने स्थानका रूपमा मात्रै नभई प्रश्न, संवाद, असहमति र विचार आदानप्रदान गर्ने खुला थलोका रूपमा विकास गर्नुपर्ने थापाको धारणा थियो।

