काम गर्न नसके अर्को चुनावमा डाँडा कटाइदिनुस् : रवि लामिछाने
काठमाडौं,असोज १८। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले काम गर्न नसके आगामी निर्वाचनमा जनताले अस्वीकार गर्नुपर्ने बताउनुभएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले आफूहरूले काम गर्न नसके अर्को चुनावमा ‘डाँडा कटाइदिन’ आग्रह गर्नुभयो।
उहाँले आफूले चुनावका क्रममा पनि यही प्रतिबद्धता व्यक्त गरेको स्मरण गर्दै कांग्रेसको ऐतिहासिक मञ्चमा उभिएर पनि आफ्नो भनाइमा अडिग रहेको बताउनुभयो।
‘हामीले काम गर्न सकेनौँ भने अर्को चुनावमा हामीलाई डाँडा कटाइदिनुस्। मैले चुनावमा भनेको यही हो। तपाईंहरूमध्ये यहीँ उपस्थित कतिपय मान्छेहरूले पनि भोट त्यही कारणले हाल्नुभएको हो,’ लामिछानेले भन्नुभयो।
लामिछानेले आफ्नै दलका नेताकार्यकर्तालाई समेत जनताको अपेक्षाअनुसार काम गर्न नसके पार्टीप्रतिको समर्थन फिर्ता लिन आग्रह गर्नुभयो।
‘नेपाली कांग्रेसको यस ऐतिहासिक मञ्चमा उभिएर म यस कुरामा अझै पनि अडिग छु र म मेरै दलका साथीहरूलाई भन्न चाहन्छु, यो पाँच वर्ष राष्ट्रिय स्वतन्त्र पार्टीले काम गर्न सकेन भने सबैभन्दा पहिला राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता च्यात्नुहोला,’ उहाँले भन्नुभयो।
आफूहरूले यस्तो कुरा भन्न सक्ने राजनीतिक आँट राखेको उल्लेख गर्दै लामिछानेले जनतासामु गरेका प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिनुभयो।

