कांग्रेस महाधिवेशनमा दलका नेताको साझा जोड : लोकतन्त्र सुदृढीकरणदेखि विकास र सहकार्यसम्म
काठमाडौँ,असोज १८ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु भएको छ। ‘परम्पराको सम्मान र परिवर्तनको सङ्कल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित सुरु भएको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका नेताहरूले लोकतन्त्रको सुदृढीकरण, राजनीतिक सहकार्य र मुलुकको विकासका विषयमा धारणा राखेका छन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद् र राजनीतिक दलभित्र जनताका प्रश्न, असहमति र विचारका लागि पर्याप्त खुला ठाउँ आवश्यक रहेको बताउनुभयो। उहाँले सिंहदरबार र संसद् हुँदै समुदाय, क्षेत्र, वर्ग, पुस्ता तथा डिजिटल मञ्चसम्म खुलापन आवश्यक रहेको उल्लेख गर्नुभयो।
सत्तामा रहेकाहरूले जनताका प्रश्न सुन्ने र संवाद गर्ने वातावरण बनाउनुपर्ने भन्दै सभापति थापाले लोकतन्त्रमा जनताको आवाज बन्द गर्न नहुने बताउनुभयो। १० वर्षपछि खुलामञ्चमा कांग्रेसको महाधिवेशन आयोजना हुनु खुला संवाद र जनतासँगको सम्बन्ध पुनः स्थापित गर्ने प्रतीक भएको उहाँको भनाइ थियो।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश, लोकतन्त्र र यसका मूल्य–मान्यता खतरामा नरहेको बताउँदै लोकतान्त्रिक संस्थाहरूको रक्षा र संरक्षणमा आफूहरू अग्रपङ्क्तिमा रहने बताउनुभयो। जनताले अब राजनीतिक दलको काम र परिणाम हेर्न थालेको उल्लेख गर्दै उहाँले काम गर्न नसके निर्वाचनमार्फत जनताले निर्णय गर्ने धारणा राख्नुभयो।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभापति थापाले पार्टी नेतृत्वमा निरन्तरताको क्रमभङ्ग गर्दै नयाँ इतिहासतर्फ अघि बढेको बताउनुभयो। देश, लोकतन्त्र र संविधान अप्ठ्यारोमा रहेको उल्लेख गर्दै उहाँले मुलुकलाई सुदृढ बनाउन कांग्रेसको नेतृत्वलाई साथ दिन आफूहरू तयार रहेको बताउनुभयो।
कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले १५औँ महाधिवेशन पार्टीको नयाँ यात्राको सुरुवात भएको बताउनुभयो। उहाँले कांग्रेसलाई अझ बलियो र ऊर्जाशील बनाउँदै नयाँ पुस्ताको भावनालाई समेटेर अघि बढाउनुपर्ने धारणा राख्नुभयो। जलवायु परिवर्तनको असर, मधेस आन्दोलनले उठाएका सवाल तथा जेनजी आन्दोलनका माग सम्बोधन गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो।
नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले लोकतन्त्रको रक्षा र देशको मुहार परिवर्तनका लागि राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। विगतमा विभिन्न शासन व्यवस्थाविरुद्ध कांग्रेससँग सहकार्य गरेको स्मरण गर्दै उहाँले आगामी दिनमा पनि सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई नयाँ दिशा दिन नवीन राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताउनुभयो। उहाँले मुलुकमा देखिएका राजनीतिक समस्यालाई संविधान र गणतान्त्रिक व्यवस्थासँग जोडेर पुनर्विचार गर्ने समय आएको धारणा राख्नुभयो।
श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले कांग्रेस लामो सङ्घर्ष र त्यागबाट स्थापित भएको पार्टी भएको बताउँदै नेपालमा लोकतन्त्र र प्रजातन्त्र स्थापनामा कांग्रेसले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश विकासका लागि स्पष्ट र दीर्घकालीन योजना बनाएर त्यसको कार्यान्वयनमा राजनीतिक दलहरूबीच प्रतिस्पर्धा हुनुपर्ने बताउनुभयो। उहाँले आगामी २० वर्षभित्र नेपाललाई विकसित देशको स्तरमा पुर्याउने लक्ष्यसहित साझा विकास योजना बनाउनुपर्ने धारणा राख्नुभयो।
नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीले कांग्रेस सभापति गगनकुमार थापाले देशको नेतृत्व गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो। गणतन्त्र स्थापनाका लागि सङ्घर्ष गरेका थापाले अब देश निर्माणमा पनि नेतृत्वदायी भूमिका खेल्ने विश्वास आफूलाई रहेको उहाँले बताउनुभयो।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्द सत्र तथा अन्य कार्यक्रमहरू भोलि र पर्सि हुनेछन्। केन्द्रीय निर्वाचन समितिका अनुसार केन्द्रीय कार्यसमितिको निर्वाचन असोज २१ र २२ गते हुने तय भएको छ।

