प्रचण्डको दाबी : ‘अब देशको नेतृत्व गर्ने अवस्थामा गगन थापा’
काठमाडौँ,असोज १८ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरन्तरताको क्रमभङ्ग गर्दै नेपाली कांग्रेसले देशको नेतृत्व गर्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले कांग्रेस सभापति गगनकुमार थापाले पार्टी नेतृत्वमा निरन्तरताको क्रमभङ्ग गर्दै नयाँ इतिहासतर्फ अघि बढेको बताए।
आफू प्रधानमन्त्री हुँदा थापा स्वास्थ्यमन्त्री रहेको स्मरण गर्दै प्रचण्डले उनको राजनीतिक यात्राप्रति खुसी व्यक्त गरे। “गगनजीलाई बधाई छ। गगनजीमा नेतृत्व गर्ने क्षमता छ। अन्ततः यो देशको नेतृत्व गर्ने अवस्था आउन सक्छ भनेको थिएँ, आज त्यही देखिरहेको छु,” उनले भने।
प्रचण्डले कांग्रेसभित्र अझै छुटेका नेता तथा समूहलाई समेटेर अघि बढ्न सभापति थापालाई आग्रह गरे। कांग्रेसको नेतृत्वमा मात्र सीमित नरही अब देशकै नेतृत्व गर्ने दिशामा अघि बढ्नुपर्ने भन्दै उनले त्यसका लागि आफ्नो साथ र सहयोग रहने बताए।
मुलुकमा गणतन्त्र र लोकतन्त्रमाथि जोखिम आउन सक्ने अवस्था रहेको उल्लेख गर्दै प्रचण्डले राजनीतिक दलहरू सचेत हुनुपर्ने बताए। आफू र कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाबीच भएको शान्ति सम्झौताका केही विषय अझै टुङ्गिन बाँकी रहेको भन्दै उनले त्यसलाई पूरा गर्न सभापति थापाले पहल गर्नुपर्ने धारणा राखे।
“शान्ति सम्झौताका केही चिज अझै टुङ्ग्याउन बाँकी छ। यो टुङ्गिएन भने देश फेरि अर्को द्वन्द्वमा जान सक्छ। यो पनि गगन थापाले पूरा गर्नुपर्ने छ,” प्रचण्डले भने।

