खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् : प्रधानमन्त्री शाह



काठमाडौं,असोज १८ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशन सुरु भएको दिन सामाजिक सञ्जालमार्फत व्यंग्यात्मक टिप्पणी गरेका छन् ।

काठमाडौंको खुलामञ्चमा आइतबारदेखि नेपाली कांग्रेसको १५औँ महाधिवेशन सुरु भएको छ। महाधिवेशनको उद्घाटन समारोहमा कांग्रेसका नेता–कार्यकर्तासँगै विभिन्न राजनीतिक दलका नेताहरू तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियोे ।

महाधिवेशन सुरु भएकै दिन प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा कांग्रेसको महाधिवेशनस्थलका रूपमा प्रयोग गरिएको खुलामञ्चलाई लिएर व्यंग्यात्मक टिप्पणी गरेका हुन्। उनले लेखेका छन्, “धन्न खुला मञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्!”

प्रधानमन्त्री शाहको उक्त टिप्पणी कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा सहभागी भएर विभिन्न नेताहरूले राखेका अभिव्यक्तिको सन्दर्भमा आएको देखिन्छ। महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न दलका नेताहरूले शुभकामना दिँदै समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा राखेका थिए।

कांग्रेसको १५औँ महाधिवेशनमा पूर्वप्रधानमन्त्री द्वय पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई, काङ्ग्रेस सभापति गगनकुमार थापासहित पार्टीका शीर्ष नेताहरू, महाधिवेशन प्रतिनिधि, नेता–कार्यकर्ता तथा आमन्त्रित अतिथिहरू सहभागी थिए ।

महाधिवेशनले कांग्रेसको आगामी नेतृत्व तथा राजनीतिक दिशाबारे महत्वपूर्ण निर्णय गर्नेछ।


प्रतिक्रिया दिनुहोस्