नुवाकोट–२ को मतगणना रोकियो, केसी र लामाको महाधिवेशन सहभागिता अन्योलमा



नुवाकोट,असोज १८। नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशनमा मतपत्रको हस्ताक्षर र मतपेटिकाको सिललाई लिएर विवाद भएपछि मतगणना स्थगित गरिएको छ।

अर्जुननरसिंह केसी पक्षबाट मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर फरक–फरक रहेको तथा मतपेटिकाको सिलसमेत टुटेको भन्दै उजुरी परेपछि नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले छानबिन नभएसम्म मतगणना रोक्न निर्देशन दिएको हो।

केन्द्रीय निर्वाचन समितिका सदस्य–सचिव राजु कडुवालले जिल्ला निर्वाचन अधिकृत रत्नसुन्दर खड्गीलाई पठाएको पत्रमा उजुरीका विषयमा छानबिन गर्नुपर्ने देखिएकाले त्यसबारे निर्णय नभएसम्म मतगणना यथास्थितिमा राख्न निर्देशन दिइएको छ।

समितिले बाँकी मतपत्र र मतपेटिकालाई समेत शीलबन्दी गरी सुरक्षित रूपमा राख्न निर्देशन दिएको छ। केन्द्रीय निर्वाचन समितिको यो निर्णयसँगै क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशनको मतगणना प्रक्रिया थप अन्योलमा परेको छ।

केसी पक्षले मतपत्रको हस्ताक्षरमा प्रश्न उठाउँदै उजुरी दिएको छ भने बहादुरसिंह लामा पक्षबाट भएको भनिएको प्रक्रियागत अनियमितताबारे पनि प्रश्न उठाइएको छ। यी विषयमा केन्द्रीय निर्वाचन समितिले छानबिन गरेपछि मात्रै क्षेत्रीय अधिवेशनको बाँकी प्रक्रिया अघि बढ्ने देखिएको छ।

केन्द्रीय निर्वाचन समितिले तत्काल मतगणना रोक्न निर्देशन दिएपछि नुवाकोट क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी हुने प्रक्रियासमेत प्रभावित भएको छ। क्षेत्रीय अधिवेशनको अन्तिम परिणाम सार्वजनिक नभएसम्म अर्जुननरसिंह केसी र बहादुरसिंह लामा दुवै पक्षको महाधिवेशन सहभागिता अन्योलमा परेको छ।

प्रतिक्रिया दिनुहोस्