सभामुख अर्याल तान्जानिया प्रस्थान



काठमाडौं, असोज १८ । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज तान्जानिया प्रस्थान गर्नुभएको छ।

तान्जानियाको अरुषा सहरमा अक्टोबर ५ देखि ९ सम्म हुने महासभामा विश्वभरका संसद्का प्रतिनिधिहरू सहभागी हुनेछन्।महासभामा स्थायी समितिका बैठक, गभर्निङ काउन्सिलको बैठक, सामान्य छलफल तथा विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम छ।

महासभाका क्रममा लोकतन्त्र, मानवअधिकार, शान्ति तथा अन्तर्राष्ट्रिय सुरक्षा, दिगो विकास, कृत्रिम बुद्धिमत्ता, संयुक्त राष्ट्रसंघीय सुधारलगायतका विषयमा छलफल हुनेछ। सभामुख अर्यालले विभिन्न देशका संसद्का प्रतिनिधिसँग भेटवार्ता गर्नुका साथै तान्जानियास्थित नेपाली समुदायसँग पनि अन्तरक्रिया गर्नुहुनेछ।

महासभा सम्पन्न भएपछि प्रतिनिधिमण्डल केन्याको राजधानी नैरोबी जानेछ। त्यहाँ नेपाली समुदायसँग अन्तरक्रिया, विभिन्न स्थलको भ्रमण तथा केन्याको संसद्का उपसभामुख र सांसदसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भ्रमण सम्पन्न गरी प्रतिनिधिमण्डल अक्टोबर १२ मा नेपाल फर्कनेछ।

प्रतिनिधिमण्डलमा सभामुखकी धर्मपत्नी अम्बिका केसी, प्रतिनिधिसभा सदस्य रविन महत्तो, राष्ट्रियसभा सदस्यहरू झक्कु प्रसाद सुवेदी र अञ्जान शाक्यसहित संसद्का महासचिव, सचिव, सहसचिव तथा सभामुखका निजी सचिव सहभागी हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्