कांग्रेस केन्द्रीय कार्यसमिति निर्वाचनको कार्यतालिका सार्वजनिक



काठमाडौं, असोज १९। नेपाली कांग्रेसको निर्वाचन समितिले केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ।

केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार सोमबार साँझ ५ बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुनेछ। सोमबार साँझ ५ बजे मतदाता नामावली प्रकाशन, ५ देखि ६ः३० बजेसम्म मतदाता नामावलीउपर दाबीविरोध र बेलुका ८ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ।

असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता हुनेछ। सोही दिन अपराह्न ४ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन, ४ः३० देखि ५ः३० बजेसम्म उम्मेदवारीउपर दाबीविरोध तथा बेलुका ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ।

असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ भने बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। सोही दिन दिनभर प्रचारप्रसार गर्न पाइनेछ।

असोज २२ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ। मतदानका लागि राष्ट्रिय सभागृह, खुलामञ्च र नेपाल प्रज्ञा–प्रतिष्ठान भवन तोकिएका छन्। मतदान सकिएपछि मतगणना सुरु गरिने समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्